काठमाडौं, २५ कार्तिक । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ४ जनाले आवेदन दिएका छन् । नयाँ अध्यक्ष नियुक्ति लागि बिहीबार अन्तिम मिति हो ।
बिहीबार २ बजेसम्म ४ जनाको निवेदन परेको अर्थमन्त्रालय श्रोतले बताएको छ । बुधबारसम्म तीन जनाले निवेदन दिएका थिए ।मन्त्रालय श्रोतका अनुसार पहिलो नम्बरमा चितवनका अनिल पौडेल, दोस्रो नम्बरमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, तेस्रो नम्बरमा बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी र चौथो नम्बरमा बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंले निवेदन दर्ता गराएका छन् ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । प्राप्त निवेदकहरुलाई आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।
प्रतिक्रिया