राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधना

काठमाडौं, २४ कार्तिक । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् ।

छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६७५ छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका बर्तालुले पनि आजै अस्ताउँदो सूर्यलाई पूजा आरधनासहित अघ्र्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।

चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दान गरेका बर्तालु रातभर छठ घाटमै जाग्राम बस्छन्। कार्तिक शुक्ल सप्तमीका दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गरेपछि चारदिने छठ पर्व समाप्त हुन्छ।

कोरोनाका कारण गत वर्ष रोकिएको छठ मनाउन यस वर्ष गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ। विभिन्न धार्मिक संस्थाले बर्तालुलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरणको व्यवस्था मिलाएको समितिका सदस्य अनिल सिंहले जानकारी दिए। स्वास्थ्य सुरक्षाका लागि मास्क र स्यानिटाइजर वितरण गरिए पनि बर्तालुका बीचमा भौतिक दूरी भने कायम भएको देखिँदैन।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि शुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति