सरकार सबैलाई साथमा लिएर हिँड्छ– गृहमन्त्री खाँण

बुटवल, २४ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन् ।

भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकका उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाँणले प्रहरी, प्रशासनले जनतालाई शान्ति सुरक्षालगायत नागरिकको दैनिकी सहज बनाउन दिएको साथको आमनागरिकले समुचित मूल्याङ्कन गर्नुपर्ने बताउँदै भने, “प्रहरी जनताको साथी भएकाले प्रहरीप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्छ ।” गृहमन्त्री खाँणले प्रहरी कार्यालयमा जाने हरेक नागरिकलाई प्रहरीले सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको योगदानको सराहनासमेत गरे ।

गृहमन्त्री खाँणले कोभिड महामारीबाट अहिले केही सहजताजस्तो भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्णरूपले पालना गर्न अनुरोध गरे । उनले वर्तमान सरकारले सबैले समानरूपले राज्यको सेवा सुविधा पाउनुपर्ने मान्यता राखेरै वर्तमान सरकार बनेपछि प्रहरीको रासनमा सबै तहका प्रहरी सदस्यलाई समानरूपले लागू हुने गरी १५ प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाँणले कांग्रेसका नेता कार्यकर्ता जनताको सेवक भएकाले जनताको सेवामा पूर्णरूपले लाग्न अनुरोध गरे । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा भए पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति