बाह्रौँ राष्ट्रिय जनगणनाको तयारी पूरा : नेपालको जनसंख्या तीन करोड नपुग्ने


काठमाडौं, २४ कार्तिक । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरेको छ।विभागले बिहीबारदेखि हुने जनगणनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरेको हो। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तीन करोड जनसंख्या नपुग्ने अनुमान गरिएको बताए। उनले नेपालको जन्मदर कम हुँदै गएको र विदेश पलायन पनि बढेकाले जनसंख्याले तीन करोडको आँकडा पार नगर्ने बताएका छन्।

राष्ट्रिय जनगणनाको बाह्रौं श्रृंखला बिहीबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सुरु गर्ने भएकी छन्। नेपालमा हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना गर्ने चलन छ। वि.सं. १९६८ देखि नेपालमा जनगणना हुने गरेको छ। प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली(बिहीबार)देखि सुरु हुँदैछ ।

जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो । जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले बताए । जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए । काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरु मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलाली लगायतका जिल्लामा भने २÷२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए । जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने उनले बताए ।

तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए उनले भने – ‘भारतीय सरकारबाट सहज आवत् जावत् दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ ।

कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानि, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेशन हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ । अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ति क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ति विवरणहरु लिनपनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ । त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए । सबै तहमा चाहिने खण्डिकृत विवरणहरु जनगणनाबाट आउने बताए । आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रुपमा रहने उनले बताए । उनले भने – ‘सबै तहमा चाहिने खण्डिकृत डेटाहरु जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजनाहरु तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रुपमा अहिलेको जनगणनालाई लिएका छौँ । यो धेरै महत्वपूर्ण छ । यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि दुरगामी प्रभाव पार्छ ।’

काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतीमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ । साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको जनगणना संकलन गरिने भएको छ । यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति