काठमाडौं, २३ कार्तिक । विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। मंगलबार १० बजे कारागार भित्र कैदीबन्दीबीच दोहोरो झडप भएको हो। झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्।घाइतेलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पढाएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए। चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै यहाँका कैदीबन्दी आन्दोलित भएका थिए। चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेलाई यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि कैदीबन्दीबीच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ।
कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई यातना दिने गरेको आरोप छ। यातना र अत्याचार सहन नसकेपछि अन्य कैदीबन्दीले चौकीदार गुरूङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, बिशाल मुक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए।
थुनिएका कैदीबन्दीलाई अहिले बाहिर निकालेपछि कारागार भित्रको माहोल शान्त भएको जेलर पोखरेलले बताए। ‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौं,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ। १४ जनाको हकमा भित्र बस्ने वातावरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागार पठाउने तयारी गरिएको छ।’यद्यपी ती १४ जनालाई कुन कारागारमा पठाउने निर्णाय भने भइनसकेको उनले बताए । यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए।गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूलेले दिनभरी आन्दोलन गरेका थिए। कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागार पठाएको थियो।
प्रतिक्रिया