डिम्याट खाता के हो ? यो कहाँ र कसरी खोल्ने ?

काठमाडौं, २३ काठमाडौं । पछिल्लो समय डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ४६ लाख नाघेको छ।यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन्।

यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन। दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ।चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ थियो। ७ महिनामै डिम्याट खाता खोल्नेको संख्या थप १४ लाखले वृद्धि हुनुले सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको पुष्टि गर्छ।शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ।सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ।

मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ ।डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन्।सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्दैछ। हालसम्म ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ कित्ता सेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

के हो डिम्याट खाता ?

अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ।विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो। अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे।

२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ। जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ।

प्राथमिक सेयर ९आइपिओ० भरेपछि आइपिओ परेमा खातामै जम्मा हुन्छ। त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।

कसरी, कहाँ खोल्ने खाता ?

यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ। सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन्।त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट)भनिन्छ।

७६ वटा यस्ता निक्षेप सदस्य छन्। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ। आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ। धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन्। केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन्। डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ।

सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से) बाट खरिदबिक्री गर्न सक्नुहुनेछ। आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छरु त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ। यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति