नेपाली सेनाको ब्यारेक आक्रमण गर्दा प्रयोग भएका बसका मालिकले पाए २० वर्षपछि न्याय

काठमाडौं, २३ कार्तिक । दाङका एक यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन्।तत्काललीन राप्ती बस सार्वजनिक व्यवसायी समिति केन्द्रीय कार्यालय तुलसीपुर दाङ र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका संरक्षक रहेका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का भरतनाथ योगीका बसहरू २०५८ मा नेपाली सेनाले नियन्त्रणमा लिएको थियो।माओवादीले २०५८ मंसिर ८ गते घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणमा आक्रमण गरेको थियो।

आक्रमणपछि माओवादीले नेपाली सेनाका हातहतियार, बन्दोबस्तीका सामान र घाइतेलाई ओसार्न योगीका दुइटा बस प्रयोग गरेका थिए। माओवादीलाई सघाएको आरोपमा सेनाले योगीका बस नियन्त्रणमा लिएको थियो।नेपाली सेनाले योगीका बस दुई वर्ष बढी समयसम्म नियन्त्रणमा लिएर प्रयोग गरे पनि कुनै क्षतिपूर्ति दिएको थिएन।सेनाले आफ्नो सम्पत्ति कब्जामा राखेपनि क्षतिपूर्ति नदिएको भन्दै योगीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

योगीले दिएको मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले योगीलाई क्षतिपूर्ति वापतको रकम एक करोड चार लाख ९७ हजार ८ सय ६६ रूपैयाँ उपलब्ध गराउन सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय दाङको नाममा र रकम उपलब्ध गराउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ।आफूले ढिलै भए पनि न्याय पाएको योगीले बताए। ‘देशमा न्याय मरेको छैन भन्ने लागेको छ,’ उनले भने ‘ढिलै भए पनि मैले न्याय पाउँछु भन्ने आशा त थियो।’उनले यसअघि धेरैपटक क्षतिपूर्तिका लागि सरकार र सेनासँग अनुरोध पनि गरेका थिए। उनले माओवादीसँग पनि क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका थिए।

योगीको पक्षबाट अधिवक्ता भिमार्जुन आचार्यले बहस गरेका थिए। योगीका बसहरू सेनाकै सवारी साधनजस्तै देखिने गरी(पेन्टिङ) गरिएका थिए। ती बस रोल्पा क्षेत्रमा सञ्चालन हुँदै आएका थिए।सेनाले माओवादी र उनीहरूका बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै योगीका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीन वटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो जीप झण्डै दुई वर्ष नियन्त्रणमा लिएर आफैँ चलाएको थियो।सेनाले ०५८ मंसिर ८ गते नियन्त्रणमा लिएका ती गाडीहरु २०६० भदौ १० गतेसम्म आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको थियो। पछि ती गाडी सेनाले योगीलाई नै बुझाएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति