काठमाडौं, २१ कार्तिक । ताइवानले आफ्नो स्वतन्त्रता र लोकतन्त्रताका लागि लडिरहने बताएको छ। चीनले शुक्रवार ुताइवानको स्वतन्त्रताु को समर्थन गर्नेलाई आपराधिक कारबाही चलाउने बताएपछि ताइवानको यस्तो जवाफ आएको हो। ताइवानलाई लिएर विवादले उग्र रुप लिइरहेका बेला चीनले चेतावनीयुक्त वक्तव्य निकालेको थियो। ताइवानमा चीनको यस चेतावनीलाई लिएर आक्रोश बढिरहेको छ। ताइवानबासीले यसलाई हाँसोको विषय पनि बनाइरहेका छन्।
चीनले पहिलो पटक ताइवानको स्वतन्त्रताु को समर्थकलाई कारबाही चेतावनी दिएको हो। चीन ताइवानलाई अहिले पनि आफ्नो एक प्रान्त मान्छ। उसले यस द्वीपलाई आफ्नो नियन्त्रणमा लिनका लागि बल प्रयोगको सम्भावना बढ्दै गएको छ। अर्कातिर ताइवान आफूलाई एक स्वतन्त्र देशका रुपमा विश्वमाझ पेश गर्दै आएको छ। उसले आफ्नो स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि लड्न तयार रहेको बताएको छ। चीनस्थित ताइवान मामिला कार्यालयले ताइवानका प्रमुख प्रिमियर सुत्सेङ्ग चाङ्ग, संसदका सभामुख यु सि-कुन र विदेश मन्त्री जोसेफ वु को नाम लिँदै उनीहरुलाई ताइवानको स्वतन्त्रताको समर्थनको पक्षमा उभिएकाको सूची मा राखेको छ। चीनले यी व्यक्तिहरु चीनको मुख्यभूमिमा रहने मानिसहरुलाई उकास्न लागेको आरोप लगाइरहेको छ। चीनले पहिलो पटक आफ्नो मातृभूमिविरुद्ध लाग्ने ताइवानका नागरिकको सूची सार्वजनिक गरेको हो। चीनस्थित ताइवान मामिला कार्यालयकी प्रवक्ता झु फेङ्गलियानले शुक्रवार एक विज्ञप्ति निकालेर यस सूचीमा रहेका मानिसको नाम सार्वजनिक गरेका हुन्। उनीहरुलाई एक दिन चीनले सजाय दिने पनि उनले बताएकी छन्।
चीनको मुख्यभूमि र विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउमा उनीहरुलाई उपस्थित हुन नदिने पनि उनले बताएका छन्। कालोसूचीमा परेका यस्ता मानिसले चीनको कम्पनी र नागरिकसँग कुनै किसिमको सरोकार राख्न पाउने छैनन्।चीनको यस चेतावनीको ताइवानका मेनल्यान्ड अफेयर्स काउन्सिलले कडा भर्त्सना गरेको छ। उक्त कार्यालयले ताइवान एक लोकतान्त्रिक समाज रहेको बताउँदै बेइजिङको नभइ आफ्नोमा कानुनको शासन चल्ने उल्लेख गरेको छ। ुहामी यस किसिमको कुनै धम्की र उत्तेजनालाई स्वीकार गर्दैनौँु, ताइवानले भनेको छ, ुहामी आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न तयार छौँ।
उता झु फेङ्गलियानले भने ुताइवानको स्वतन्त्रताु को समर्थन गर्नेलाई एक कडा सन्देश दिँदै उनीहरुले मातृभूमिलाई धोका दिएको बताएकी छन्। जो मानिसले आफ्ना पूर्वजलाई भुले, जसले आफ्नो मातृभूमिलाई धोका दिए। जो देशलाई विभाजन गर्न चाहन्छन्। उनीहरुलाई खारेज गरिदिन्छौँ। इतिहासले उनीहरुको मूल्याङ्कन गर्नेछु, झुले भनेकी छन्। शनिवार ताइवानका विदेश मन्त्री जोसेफ वु ले ट्विटरमा स्वतन्त्रताका लागि लडिरहने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट ममाथि आजीवन प्रतिबन्ध लगाउने निर्णयलाई लिएर मलाई कयौँ मानिसले शुभकामना दिएका छन्। केही मानिस ईर्ष्या गरिरहेका छन्। केही मानिसले यो प्रतिबन्ध खेप्न निवेदन दिने ठाउँ सोधिरहेका छन्। म ताइवानको स्वतन्त्रता र लोकतन्त्रका लागि लडिरहनेछु।
प्रतिक्रिया