उर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीच आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।यस अवसरमा उर्जामन्त्री भुसालले उर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धित प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध उर्जालाई व्यवस्थित गर्न चाहेको बताइन् । उनले जलविद्युत् खपत गर्ने फ्रान्सका उद्योगहरूलाई नेपालमा स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै त्यसका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।नेपालले जलवायु परिवर्तनको मार खेप्नु परेको यथार्थ भन्दै मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता मुलुकका मुद्दालाई सक्रियतापूर्वक उठाउनुपर्नेमा जोड दिइन् । नेपाल–फ्रान्सबीच रहीआएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदैआएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वस व्यक्त गरिन् ।त्यस्तै फ्रान्सका राजदूत बुरबाओले उर्जा क्षेत्रमा फ्रान्सले विकास गरेको नयाँ प्रविधि नेपालमा भित्र्याउनका लागि आफ्नो देशका निजी कम्पनी इच्छुक रहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरे ।उनले वैकल्पिक ऊर्जा एवं उर्जा सञ्चितिका सम्बन्धमा फ्रान्समा विकास भएका प्रविधि नेपाल ल्याउन चाहेको पनि बताए । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकरराज राजभण्डारीसहित पराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति