प्रविधिमैत्री कार्यक्रमका लागि नेपाल र इजरायलको कलेजबीच सम्झौता

काठमाडौँ, १६ कात्तिक । ललितपुरको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इजरायलको एजरेली कलेज अफ इन्जिनियरिङसँग शैक्षिक क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम तथा विभिन्न परियोजनालाई प्रवद्र्धन गर्ने विषयमा सम्झौता गरेको छ ।

एड्भान्स्ड कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवाल र एजरेली कलेज अफ इन्जिनियरिङका तर्फबाट अध्यक्ष प्रा. रोजा एजरीले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा अध्यक्ष सिलवालले आगामी दिनमा दुई शैक्षिक संस्थाको शैक्षिक र प्राविधिक दुवै क्षेत्रको उन्नयनका लागि लागि यो सहकार्य लाभदायी हुने बताए । कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले इन्जिनियरिङ, विज्ञान र प्रविधिका क्षेत्रमा संयुक्त अन्वेषण र अनुसन्धानका लागि यो सम्झौता फलदायी हुने विश्वास व्यक्त गरे ।

एजरेली कलेज अफ इन्जिनियरिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रफी अविरामले सम्झौतापत्र र यसका सम्भावनामाथि प्रकाश पारे भने एजरेली कलेज अफ इन्जिनियरिङकी अध्यक्ष रोजा एजरीले दुई संस्थाबीच भएको सम्झौताप्रति प्रसन्नता व्यक्त गरे । कार्यक्रममा इजरायलका लागि पूर्वनेपाली राजदूत डा. अन्जन शाक्यले सम्झौताको सार्थक कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।

सम्झौतापत्रमा दुवै संस्थाका शिक्षक तथा विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यक्रममा सहभागिताको अवसर प्रदान गर्ने, विज्ञान, प्रविधि इन्जिनियरिङका क्षेत्रमा दुवै संस्थाका प्राध्यापकबीच अन्तरक्र्रियात्मक कार्यक्रम सम्पन्न गर्ने, संयुक्त सम्मेलन र अनुसन्धानात्मक गतिविधि आयोजना गर्ने, अनलाइन तथा प्रत्यक्ष उपस्थितिका माध्यमबाट विभिन्न सङ्कायको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक वर्ष आलोपालो शैक्षिक प्रदर्शनी सम्पन्न गर्ने, दुवै कलेजका विद्यार्थीलाई शैक्षिक भ्रमणमा सहभागी गराउने, नयाँनयाँ सफ्टवेयरको विकासका बारेमा अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यसूची समावेश छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति