कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान : कांग्रेस नेता शाही मुख्यमन्त्री बन्ने पक्का


कर्णाली, १६ कात्तिक । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ : ३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुखले सोमबार नै उहाँको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिनुभएको हो ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांगे्रससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उहाँद्वारा जारी पे्रस वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको काँग्रेस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्।आधा आधा समय सत्ता नेतृत्व गर्ने पूर्व सहमतिअनुसार यसअघिका मुख्यमन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएपछि कांग्रेसको संसदीय दलका नेता जीवनबाहादुर शाहीको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन हुने भएको हो। सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएर नयाँ सरकारको ढोका खोलिदिएका हुन्। केही दिनअघिसम्म पद नछाड्ने बताएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै अब कर्णालीमा कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका हुन्। कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति