काठमाडौं, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोक्न खोज्दा फसेको बताएका छन्।चितवनमा पार्टीको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई बोकेर हिँड्दा फसेको भन्दै अब गल्ती नदोहोर्याउने बताए।
‘चितवनमा नेपाली कांग्रेसले छोरी बोक्यो भनेर बाउ बोक्न खोज्दा फसियो,’ उनले भने, ‘अब यसरी फसिन्न।’गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि ओलीले भरतपुरमा भाषण गर्दै ‘कांग्रेसले माओवादीको छोरी बोकेको’ टिप्पणी गरेका थिए। त्यसको केही महिनापछि भएको संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो। पछि दुई पार्टी एकीकरण भएर नेकपा बनेको थियो। ओलीले चितवनमा महाधिवेशन गर्ने भन्दा प्रचण्डका सातो गएको बताए।
‘हामीले चितवनमा महाधिवेशन गर्ने के भन्याथ्यौं, गाउँ खाने कथामा जस्तो सरोफेरो सप्पै मेरोजस्तो पो गर्न खोजे,’ उनले भने, ‘हामीले महाधिवेशन कहिले बुटवलमा गर्यौं, कहिले नेपालगञ्जमा गर्यौं, अहिले चितवनमा गर्ने भनेका न हौं। महाधिवेशन नगरेको भए आफैंले जित्ने जस्तो पो गर्दैछन्।’ उनले प्रचण्डबाट जनता र आफूले धेरै धोका खाएको भन्दै झन्डै दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउने मान्छेलाई जनताले चिनिसकेको बताए। ओलीले चितवन भगवान रामको जन्मभूमि, रामायण लेखिएको बाल्मिकी आश्रम, त्रिवेणी, सीता अन्तर्ध्यान भएको क्षेत्र रहेको भन्दै यस्तो ठाउँमा प्रचण्डलाई जिताउन भनेर आफूले काँधमा बोकेर हिँडेको सम्झँदा छक्कै पर्ने गरेको बताए। ओलीले सेटिङ गरेर अदालत मिलाएर आफूलाई हटाइएको दाबी गरे।
संवैधानिक ढंगले अघि बढेर हटाउन नसकेपछि असंवैधानिक बाटोबाट मर्यादित संस्थाहरूको हुर्मत लिएर परमादेशबाट सरकार बनाएको बताए। ‘अहिले त न्यायधीशहरूले नै बकपत्र गर्न थालिहाले, हामीले भन्नै पर्दैन,’ उनले भने, ‘नेकपा एमालेलाई कसै गरे पनि संवैधानिक बाटोबाट हटाउन सकिँदैन भन्ने भएपछि सेटिङ मिलाइयो। तैपनि यो सरकारलाई ढाल्न समय खर्च नगर्ने उनले बताए। एमालेले चाहयो भने वर्तमान सरकारलाई सात दिन भित्रैमा ढाल्न सक्ने दाबी गर्दै उनले भने, ‘तर हामी तत्काल यसो गरेर समय खेर फाल्दैनौं। महाधिवेशन गरेर जनताकोमा जान्छौं, जनताको मत जितेर मूल ढोकाबाट सिंहदरबार छिर्छौं।’
प्रतिक्रिया