अफगान पूर्व सैनिक पैसाका लागि र केही तालिबान शासनको विकल्प खोज्दै इस्लामिक इस्टेटमा आबद्ध

काठमाडौं, १५ कार्तिक । तालिबानले पहिलादेखिनै अमेरिकामथि इस्लामिक स्टेटलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ । तालिबानले अमेरिकामाथि लगाएको सो आरोप पुष्टि हुने गरी हालै एक रिपोर्ट प्रकाशित भएको छ । वाल स्ट्रिट जर्लनमा प्रकाशित रिपोर्टमा अमेरिकी तालिमप्राप्त पूर्व अफगान सैनिक र जासुसहरू तालिबानविरुद्ध लड्न भन्दै इस्लामिक स्टेटसँग आबद्ध हुन थालेको उल्लेख छ । पुन: सत्तामा आएको तालिबानले अफगान सेनाका पूर्व सदस्यलाई माफी दिने बताइसकेको छ ।

तर बदलास्वरुप पूर्व सरकारी सैनिकविरुद्ध हिंसात्मक हमला हुन थालेका घटना बाहिर आइरहेका छन् ।यसैबीच, हाल तालिबान शासनको प्रतिवाद गरिरहेको जिहादी समूह इस्लामिक स्टेटसँग अमेरिकाले तालिम दिएका पूर्व सैनिक नजिकिन थालेको वाल स्ट्रिट जर्नलको रिपोर्टमा भनिएको छ । यसअघि आईएसआईएस पनि भनिने इस्लामिक स्टेटको अफगान शाखा आईएस-केले उत्सुकताका साथ अमेरिकी तालिमप्राप्त पूर्व सेना तथा जासुसलाई लिन थालेको छ ।वाल स्ट्रिट जर्नलसँग कुरा गरेका पूर्व सुरक्षा अधिकारी तथा तालिबानका अनुसार केही पूर्व सैनिक पैसाका लागि र केही तालिबान शासनको विकल्प खोज्दै इस्लामिक इस्टेटमा आबद्ध हुन थालेका छन् ।

‘यदि कुनै प्रतिरोधी शक्ति भएको भए उनीहरू सो शक्तिमा आवद्ध हुन्थे’, पूर्व खुफिया प्रमुख रहमतुल्लाह नबीलले जर्नललाई भने, ‘हाल तालिबानबाहेक अस्तित्वमा रहेको सशस्त्र समूह आईएसआईएस मात्रै हो ।’आईएस–के र तालिबान दुबै अतिवादी सुन्नी इस्लामिक समूह हुन् तर उनीहरूको दर्शन भने केही फरक छ । तालिबान एउटा राष्ट्रवादी संगठन हो र यसले अफगान सीमानाबाहिर विस्तार हुने कुनै लक्ष्य राखेको छैन । अफगानिस्तानका अन्य मुस्लिम सम्प्रदायप्रति तालिबान सहिष्णु देखिन्छ ।तर आईएस–केले भने शियासहितका अन्य मुस्लिम सम्प्रदायलाई धर्म त्याग गरेका सम्प्रदाय ठान्छ ।

तालिबानले यो समूहलाई सुरुमा दमन गरेको भए पनि अमेरिकी बहिर्गमनपछि पुन क्रियाशील हुन थालेको छ । स्मरणीय छ– अमेरिकाले पूर्व अफगान सेनाको तालिम एवं हतियारमा ८८ अर्ब अमेरिकी डलर खर्च गरेको थियो । तर अत्याधुनिक हतियार र तालिमबाट सुसज्जित अफगान सेना तालिबानसँग डटेर लड्न सकेको थिएन । यही कारण अगस्टमा तालिबानले काबुलमाथि कब्जा जमाउन सफल भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति