स्थलगत अवलोकन पछि योजना कार्यान्वयनमा लैजान्छुः मन्त्री थापा

गलकोट, १५ कात्तिक । गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् ।

प्रेस सेन्टर बागलुङ शाखाले बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएका वन, वातावरण तथा भू–संरक्षणका राम्रा योजनालाई अगाडि बढाउने, असफल भएका योजनाको समीक्षा गर्ने र केही नयाँ योजना लागू गर्ने बताएका हुन् । “अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु असफल योजनाको कारण खोतल्छु र नयाँ योजना लागू गर्ने योजनामा छु”, मन्त्री थापाले भने, “अहिले नयाँ योजना लागू गर्नुपूर्व जनताको माग र भावनालाई स्थलगतरुपमा नै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको छु ।”

तीन दिने जिल्ला भ्रमणमा आउनुभएका उनले जिल्लाको थामानेटा, गलकोट, ढोरपाटन क्षेत्रलगायतको अवलोकन तथा जनतासँग भेटघाट गरेका थिए । मन्त्री थापाले स्थलगतरुपमा सबै जिल्लाको भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताए । कृषि र धर्मलाई जोडेर पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ भन्दै उनले अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन केन्द्र अघि बढाइने समेत जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board