शेरबहादुर प्रधानमन्त्री हुने कुरामा सेटिङ भएको छैन : रामचन्द्र पौडेल

काठमाडौं, १५ कार्तिक ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा देखिएको विवादबारे राजनीतिक दलहरूले छलफल गर्नुपर्ने बताएका छन् । उनले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको समेत दावी गरेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा आफूले नमान्ने बताए । शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो ।

उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर संवैधानिक परिषदमा भने सेटिङ भएका भन्दै त्यसको खोजी नीति हुनैपर्ने उनको भनाइ थियो । उनले मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने बताए । काँग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाऊ र लोकतन्त्रको वारेस काँग्रेसलाई कसरी बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्ने छ । यो मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु, उनले भने ।

यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलले बताए । उनले भने, संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन ।

जनकपुरमा मधेसको प्रतिनिधि उपेन्द्र यादवसँग आफूले सम्झौता गरेपछि मुलुकमा संविधानसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको पौडेलको भनाइ थियो ।नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका भन्दै उनले संसदीय लोकतन्त्र नै समावेशी व्यवस्था भएको बताए । यस्तै पौडेलले अब कार्यतालिकामा तलमाथि हुने भन्दै मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताए ।उनले भने, हाम्रो पार्टीको महाधिवेशन हुँदैछ । अब कार्यतालिकामा तलमाथि हुन सक्दैन । मंसिरको २४ र २६ मा हाम्रो पार्टीको महाधिवेशन गर्छौं । मेरो पार्टी अस्तव्यस्त छ । मेरो पार्टीलाई सुधार गर्ने लडाइमा छु । काँग्रेस व्यवस्थित भएपछि लोकतन्त्रपनि व्यवस्थित हुन्छ । पौडेलले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएको भन्दै १४ औंमा पनि आफू स्वभाविक उम्मेदवार रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति