रुसी खोपलाई अन्तर्राष्ट्रिय मान्यता नदिएको विषयप्रति पुटिनको आक्रोश, भन्छन् –बेइमानीपूर्ण प्रतिस्पर्धा

काठमाडौं, १४ कात्तिक । रुसले रोममा आयोजित जी–२० शिखर सम्मेलनमा आफ्नो कोभिड खोपले अन्तर्राष्ट्रिय मान्यता नपाएको भन्दै गुनासो गरेको छ ।
शनिबार राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक–भी नामक कोरोनाभाइरसविरुद्धको रुसी खोपलाई अन्तर्राष्ट्रिय मान्यता नदिएको विषयप्रति गुनासो गरेका छन् । जी-२० का नेताहरूले विश्वव्यापी खोप अभियान तीव्रता पार्ने सहमति गरेको रोम शिखर सम्मेलनमा भिडियोमार्फत् सम्बोधन गर्दै उनले आक्रोशित हुँदै गुनासो पोखेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।पुटिनले आफ्नो भिडियो सन्देशमा जी–२० का स्वास्थ्य मन्त्रीलाई खोप र खोपसम्बन्धी प्रमाणपत्रबारे छलफल गरी ‘चाँडोभन्दा चाँडो’ मान्यता दिन समेत आग्रह गरेका छन् ।

‘जी–२० को निर्णयका बाबजूद पनि कोभिडविरुद्धको खोपसम्म खोपको आवश्यकता रहेका सबै मुलुकको पहुँच छैन’, भिडियो सन्देशमा पुटिनले भनेका छन् ।

बेइमानीपूर्ण प्रतिस्पर्धाका कारण रुसी खोपले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा खोपको आवश्यकता रहेका मुलुकले पहुँच नपाएको समेत पुटिनको भनाइ थियो । ‘बेइमानीपूर्ण प्रतिस्पर्धा, संरक्षणवाद र जी–२० मा आबद्ध केही मुलुकहरू खोप र यससम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन तयार नभएकै कारण यस्तो अवस्था आएको हो’, उनले थपे ।

यसै महिनाको सुरुमा दक्षिण अफ्रिकाले खोपको अभावबीच रुसी कोभिड खोपलाई मान्यता दिन अस्वीकार गरेको थियो । रुसी खोप स्पुतनिकका कारण पुरुषमा एचआईभी संक्रमण बढ्न सक्ने दाबी गर्दै दक्षिण अफ्रिकाले मान्यता दिन अस्वीकार गरेको हो ।

त्यस्तै, युरोपेली युनियन र अमेरिकामा समेत स्पुतनिकले आधिकारिक अनुमति पाएको छैन । रोममा आयोजित जी–२० शिखर सम्मेलनमा पुटिनले झैं भिडियोमार्फत् सहभागिता जनाएका चिनियाँ राष्ट्रपति सी जिङपिङले पनि खोपले आपसी मान्यता पाउनुपर्ने बताएको चिनियाँ सरकारी समाचार माध्यममा उल्लेख गरिएको छ । पुटिन र सीले आफ्नो मुलुकमा लागू गरिएका कोरोनाभाइरससम्बन्धी कडा नियमका कारण इटलीको भ्रमण नगरेको बताइन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति