प्रधानमन्त्री देउवाबाट शङ्खधर साख्वाः ‘नेपाल संवत् एप’ सार्वजनिक हुने

भक्तपुर, १४ असोज । नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्ने भएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ने.सं. ११२० अर्थात् २०५६ सालमा शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै हरेक वर्ष नेपाल संवत्‌काे पहिलो दिन अर्थात् भाईटीकाको अघिल्लो दिन सरकार प्रमुखबाट गरिने कार्यक्रमको सबै तयारी पूरा भएको उनले जानकारी दिए । यस वर्ष प्रतिष्ठानले नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा पूर्ण जानकारी समेटिएर तयार पारेको नेपाल संवत् एपः र नेपाल संवत्‌काे पात्रोसमेत प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गराउने कार्यक्रम रहेकाे जानकारी दिए ।

यसबारेमा जानकारी दिँदै मानन्धरले अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोका रुपमा रहेकाले यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् समेत समेटिएर तयार पारेको एपः सार्वजनिक गर्ने बताए ।

देवनागरिक लिपि र विक्रम संवत् भारतबाट आयातीत रहेको भन्दै नेपालको आफ्नै संवत्‌का रुपमा नेपाल संवत्‌काे पात्रोलाई प्रयोगमा ल्याउने गरी यो पात्रोलाई विक्रम संवत् र इस्वी संवत्‌मा समेत मिति, तिथि सबै मिल्ने गरी एपः तयार भएको जानकारी दिए । वैज्ञानिक रुपमा नै प्रमाणित गर्दै नेपाल पञ्चायन निर्णायक समिति, ज्योतिष, संस्कृतिविद्, परातत्वविद् र सरोकारवाला निकायहरुसँग छलफल गरेर प्रमाणित गर्दै तयार पारेको पात्रो र एपः लाई व्यवहारमा ल्याउने उनले बताए ।

केही वर्षयता नेपाल संवत्को पात्रो नै ठाउँअनुसारले फरक हुने र म्हः पूजासमेत एक दिनअगाडि र पछाडि गर्ने गरेकामा अब सबैतिर एउटै पात्रो र एकै दिन म्हः पूजा हुने उनको भनाइ छ । नेपाल संवत् नेवारको संवत् नभई सबै नेपाली जनताको साझा संवत् भएकाले यसको प्रचार आवश्यक रहेको उनले बताए । त्यसैगरी ज्ञानराम श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानको बुलेटिन प्रकाशन गरी कार्यक्रममा सार्वजनिक गरिने भएको छ । यस वर्ष आउँदो १९ गते बिहान ९ बजे प्रधानमन्त्री देउवा, मन्त्रीहरु, विभिन्न दलका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहनेछ ।

यस वर्ष दोलखा, गोरखा र पोखरामा पनि नेपाल संवत्कै दिन १९ गते माल्यार्पण गर्ने कार्यक्रम भव्यरुपमा गरिने भएको छ । पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै दोलखाको चरिकोट बजारमा, गोरखा र पोखरामा स्थापना भएको शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति