ताइवान अमेरिकी सेना प्रवेश लगतै बेइजिङ भन्यो– आगोसँग खेल्न नखोज

काठमाडौं, १४ कार्तिक । ताइवानकी राष्ट्रपति साइ इङ—वेनले नै ताइवानमा अमेरिकी सेना रहेको पुष्टि गरेपछि चीन–ताइवान सम्बन्धले झन् तनावको रुप लिएको छ। ताइवानमा अमेरिकी सैन्य उपस्थितीको पुष्टि भएपनि बेइजिङले तत्काल ठूलो कदम नचाल्ने तर सैन्य तयारी भने बलियो बनाउँदै लैजाने तयारी थालेको छ।

ताइवानको राजधानी ताइपेईस्थित एक बरिष्ठ अमेरिकी कुटनीतिज्ञले शुक्रबार वासिंगटन र ताइवानबीच जारी रक्षा सहकार्यमा कुनै परिवर्तन नआउने बताएका छन्। ताइवानमा अमेरिकी सैनिकको उपस्थिती रहेको ताइवानकी राष्ट्रपति साइ इङ—वेनले यही साता पुष्टि गरेकी थिइन्, जसलाई ताइपेईका अन्य अधिकारीहरूले तत्कालै त्यो विषयलाई ओझेलमा पार्न खोजेका थिए।साइ इङ—वेनले नै ताइवानमा अमेरिकी सेना रहेको पुष्टि गरेपछि बेइजिङले त्यसको कडा शब्दमा निन्दा गरेको थियो। साइले ताइवानमा कति संख्यामा अमेरिकी सैनिक तैनाथ छन् भन्ने नखुलाए पनि अमेरिकी सैनिकहरूले ताइवानको सेनालाई तालिम दिइरहेको बताएकी थिइन्।

ठीक यही बेला अमेरिकी उच्च अधिकारीले वासिंगटन र ताइपेईबीचको सैन्य संबन्ध मजबुत रहेको बताएपछि चीन थप शशंकित बनेको छ। ताइपेईपस्थित अमेरिकी इन्स्टिच्युटका नवनियुक्त प्रमुख सान्द्रा औड्रिकिर्क अमेरिकी बरिष्ठ कुटनीतिज्ञ हुन्। उनले ताइवानप्रतिको अमेरिकी प्रतिबद्दता दोहोर्याएकी हुन्। जसले चीनलाई अमेरिकासँग थप चिढ्याएको छ। ‘ताइवानलाई उसको आत्मरक्षाका लागि अमेरिकाले प्रतिबद्दता गरेबमोजिम नै सहयोग जारी राख्ने छ। हाम्रो साझेदारी र सहकार्यको मूल्य ताइवानप्रतिको अमेरिकाको अविचलित सहयोग नै हो’ उनको भनाइ साउथ चाइना मर्निङ पोस्टले उधृत गरेको छ।

चीनले ताइवानमा हमला गरेको खण्डमा अमेरिका ताइवानको बचाउमा आउँछ कि आउँदैन भन्ने प्रश्नमा उनले भनिन्, ‘हामी ताइवानसंबन्धि अमेरिकी कानुनअनुसार ताइवानलाई उसको आत्मरक्षाका लागि सहयोग दिन्छौं। यसमा हामी स्पस्ट छौँ।’ ताइवानी राष्ट्रपतिको अभिब्यक्तिपछि चीनको सरकारी अखबार पिपुल्स डेलिले तत्काल एक टिप्पणिमार्फत् बिरोध जनाएको थियो। पत्रिकाले अमेरिकी सेना ताइवानमा आउनुमा सैन्यभन्दा राजनीतिक अर्थ बढी रहेको औंल्याएको थियो। पिपुल्स डेलिले अमेरिकाले ताइवान मामिला उचालेर आगोसँग खेल्न खोजेको रुपमा ब्याख्या गरेको छ। ‘अमेरिकाको उद्देश्य ताइवानसंग सैन्य सम्बन्ध विस्तार गर्नु कदापी होइन। बरु आफ्नो हतियार ताइवानलाई बेच्ने उसको यो बाहना मात्र हो’ टिप्पणीमा भनिएको छ। बिहीबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता टान केफेइले अमेरिकाले ताइवानलाई सैन्य सहयोग जारी राखे त्यसको जवाफ दिन चीन दृढ रहेको बताएका थिए। ‘यदी चीनलाई घेराबन्दी गर्न अमेरिकाले ताइवानलाई उपयोग गर्छ भने हामी त्यसको शशक्त जवाफ दिनेछौं’, उनले भने।

चीनले ताइवानलाई दबाबमा राख्न गत अक्टोबर पहिलो सातामात्र १५० भन्दा बढी सैनिक जहाज ताइवानको हवाई सैन्य क्षेत्रमा पठाएको थियो। अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकनले गत मंगलबार संयुक्त राष्ट्रसंघमा ताइवानको सहभागिताबारे अमेरिकाको समर्थन रहने बताएपछि चीनले त्यसको बिरोध गरेको थियो। ताइवानमा अमेरिकी सैनिक रहेको पुष्टि भएपश्चात् पनि चीनले ताइवानबिरुद्ध कुनै ठूलो कदम तत्काल चाल्ने अवस्था नरहेको विश्लेषकहरूले टिप्पणी गरेका छन्।

बरु चीनले ताइवानलाई झुकाउन अझ बढी सैनिक परिचालन गर्न सक्छ। अक्टोबर ९ मा एक सम्बोधनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र ताइवानबीच शान्तिपूर्ण एकिकरण हुनुपर्ने र त्यो नै चीन र ताइवानको हितमा रहेको बताएका थिए। उनले शान्तिपूर्ण एकिकरण विरुद्ध उत्रनेको इतिहासले मूल्यांकन गर्ने भन्दै कडा चेतावनी दिएका थिए। चीन ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ। अमेरिकाले ताइवानसंग सैनिक र राजनीतिक सम्बन्ध राख्नुलाई चीनले ‘अमेरिकाको एक चीन नितीको उल्लंघन’ मान्दै आएको छ। ताइवानलाई अमेरिकाले गर्ने सहयोग चीनको सार्वभौमिकता विरुद्ध हुने बेइजिङ्को भनाइ छ।

जो बाइडन अमेरिकामा राष्ट्रपति नियुक्त भएपछि ताइवानसंग सैन्य सहकार्य बढाउन लागिपरेका छन्, जुन चीनलाई मन परेको छैन। सन् १९७९ मा अमेरिकाले ताइवानसंगको सम्बन्ध तोडेर जनवादी गणतन्त्र चीनसंग कुटनीतिक संबन्ध राखेयता बेइजिङ्ले वासिंगटनलाई ताइवानसंग कुनै औपचारिक सम्बन्ध नराख्न आग्रह गर्दै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति