काठमाडौँ, १२ कार्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबार पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ ।
त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ ।
बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उपाध्यक्ष बस्यालले बताइन् । नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया