तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले वृद्धि

काठमाडौँ, १० कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को पहिलो त्रैमासिकमा रु तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आ.व.को सो अबधिमा रु पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले वृद्धि भइ रु चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा रु दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८।०३ ः ११।९७ रहेकाे छ ।

सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा रु ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा रु ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ । चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर रु चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा रु दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।

विभागको तथ्याङ्कानुसार तीन महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयात मध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल रु २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ । त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन रु १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल रु १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल रु १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागकोे तथ्याङ्कानुसार स्वदेबाट रु २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ ।

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा रु आठ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र रु पाँच अर्ब पाँच करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ । त्यस्तै चालू आवको गत तीन महिनामा लगभग रु दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैंँचा र झण्डै रु एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति