एमालेको वडा र पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनले पार्टी एकढिक्का भएको सन्देश

काठमाडौं, १० कार्तिक । नेकपा एमालेले मंगलबार देशैभरमा पालिका अधिवेशन ग¥यो । एमालेको पूर्वनिर्धारित कार्यतालिका अनुरुप यसअघि कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ । एमालेको वडा र पालिका अधिवेशनमा भएको सर्वसम्मत नेतृत्व चयनले पार्टी एकढिक्का भएको सन्देश दिएको नेताहरुको दाबी छ । भर्खरै विभाजित पार्टीभित्र बाँकी रहेका तुष पनि मेटिदै गएको र यसबाट आगामी चुनावमा एमाले लाभान्वित हुने उनीहरुको आकलन छ ।

नेकपा एमालेले मंगलबार देशैभरका ७ सय ५३ पालिकाहरुको अधिवेशन एकसाथ ग¥यो । यसअघि कात्तिक ६ गते एमालेको वडा अधिवेशन पनि एकसाथ सुरु भई सम्पन्न भएको थियो । एमालेको ६ हजारभन्दा बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भयो । सोही अनुरुप एमालेले पालिका अधिवेशनको नेतृत्व पनि सर्वसम्मतीले चयन गर्ने जनायो । भर्खरै विभाजनको असर खेपेको नेकपा एमालेमा सर्वसम्मतीबाट वडा तहदेखि नै नेतृत्व चयन भएपछि पार्टीभित्र हिजोको गुटबन्दीको बाँकी तुष मेटाउन खोजिएको पनि देखिन्छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गइरहेको एमालेको सर्वसम्मती प्रणालीबाट भएको नेतृत्व चयनले गुट, उपगुटको परम्परा मत्थरप्रायः पनि भएको छ । त्यसो त, एमालेले आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरेपनि बहुमत ल्याउने दाबीका साथ वडा, पालिका र महाधिवेशनको तयारी अगाडि बढाएको पनि हो ।

सर्वसम्मति प्रणालीबाट भएको नेतृत्व चयनसँगै आगामी चुनावमा एमाले लाभान्वित हुने देखिएपनि पार्टीका पार्टी विवाद सम्बन्धमा गठित कार्यदलका दश भाइको मन भने अझै बुझेको भने छैन । दश बुँदे कार्यान्वयनको सम्बन्धमा कार्यदलका संयोजक भीम रावलले कार्यदलबाट राजीनामाको घोषणा गरिसकेका छन् । यस्तै एमाले नेता घनश्याम भुषाल लगायतका नेताहरुले एमालेको विधान महाधिवेशन र पार्टीमा विचार एवम् संगठन सम्बन्धमा फरक मत राख्दै आएका छन् । एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीद्धारा दश बुँदे सम्बन्धमा पारित भई जारी भइसकेको अन्तर पार्टी निर्देशन (अपानि–१२) कार्यान्वयन नभएकोप्रति उनीहरुको विमति छ । बैठकको निर्णयभन्दा पनि व्यक्ति केन्द्रीत विषय पार्टीम हाबी भएको एमाले नेता रावल बताउछन् ।

एमाले विधान अनुसार गाँउपालिका र नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गर्न सकिने व्यवस्था छ । यसैगरी उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ । जसमा ३३ प्रतिशत महिला प्रतिनिधित्वसहित अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उप–सचिव १÷१ जना रहन्छन् । देशैभरका ६ हजारभन्दा बढी वडाहरुको अधिवेशन एकसाथ प्रारम्भ गरेको एमालेले भर्चुअल माध्यममार्फत पालिका अधिवेशन पनि सुरु गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको वार रुमबाट पालिका अधिवेशनको औपचारिक उद्घाटन गरे । विधान महाधिवेशन र नेतृत्व चयनको महाधिवेशन पहिलो पटक छुट्टा–छुट्टै गरेको एमालेको स्थयी कमिटीको बैठकले दशौं महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरिसकेको छ । एमालेले २०७७ को चैत मसान्तसम्म सदस्य बनेका वा सदस्यता नवीकरण गरेकाहरुलाई मात्र महाधिवेशनमा भाग लिन पाउने जनाएको छ ।

महाधिवेशनको प्रतिनिधि सम्बन्धमा एमालेको आगामी कात्तिक ११ गते स्थायी कमिटी र कात्तिक १२ गते केन्द्रीय कमिटीको बैठकले अन्तिम निर्णय गर्ने जनाइएको छ ।एमालेको स्थानीय तहमा सर्वसम्मतिबाट भएको नेतृत्व चयनले पार्टीको सांगठनिक स्वरुपलाई एकढिक्का बनाएको छ । जनताको बहुदलीय जनवादलाई मागनिर्देशक सिद्धान्त बनाएको एमालेले स्वस्थ प्रतिस्पर्धालाई जोड दिएपनि यो पटक पार्टी विभाजनको क्षतिलाई पुर्न पनि यसखाले सर्वसम्मतिको प्रणाली उपयुक्त रहेको ठहर गरेको हुनसक्छ । तथापि, वैचारिक र सैद्धान्तिक आधारमा पार्टीका गतिविधि स्वस्थ र पारदर्शी ढंगबाट अगाडि बढ्न नसके यसले अन्ततः पुनः पार्टी फुटको सिर्जना हुनसक्नेप्रति एमाले चनाखो हुन आवश्यक छ । तर अहिलेलाई भने एमालेभित्र प्रतिस्पर्धी वा ठूलो विषयगत अन्तरविरोध नदेखिएका कारण आगामी चुनावमा एमालेले यसको प्रत्यक्ष वा अप्रत्यक्ष लाभ भने लिने देखिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board