अफगानिस्तानमा गहिरियो मानवीय संकट :भोक मेटाउन ५ सय डलरमा सानी छोरी बिक्री

काठमाडौँ, ९ कार्तिक । गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ ।

तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।अफगानिस्तानको यतिसम्म संकट उत्पन्न भएको छ कि अभावले ग्रस्त परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । बीबीसीको एउटा रिपोर्टका अनुसार भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बिक्री गरेकी छिन् । उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेकी हुन् ।

सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दुस्खी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’उनका श्रीमान् कबाडी संकलनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं ।

हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छन्, ‘मेरी छोरीलाई उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ ।’अहिले ती बालिका हेरातस्थित एउटा अस्पतालमै रहेकी छिन् । उनी हिँड्न सक्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन् । ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन् । तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति