सोल्टीमा पूर्वराजपरिवारसँग चियापान (फोटोफिचर)

काठमाडौं, ५ कार्तिक । सोल्टी होटलमा शुक्रबार अपराह्न चिटिक्क पारिएको थियो। अग्रपंत्तिमा पञ्चेबाजा घन्काइएको थियो। पञ्चेबाजालाई बेला-बेला शंखध्वनी गुन्जाइएको थियो।
अपराह्न ३ बजे नै पाहुनाहरूलाई स्वागत गर्न पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह आफैं उभिइरहेकी थिइन्। उनका साथमा सहयोगीहरू पनि थिए।
चियापान स्थलमा बाँसुरी, सारंगीको मौलिक धुनसँगै र मादलमार्फत ताल दिइएको थियो। निकै उत्साहित देखिने वातावरण बनाएको थियो हिमानी ट्रष्टले।

ट्रष्टले तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदानको कार्यक्रम राखेको थियो।सामाजिक कार्यमा काम गरिरहेको ट्रष्टले आमन्त्रण गरेका तीन सयबढी व्यक्तिहरू गैरराजनीतिक थिए। त्यसमा बाहुल्य कलाकारहरू थिए। वरिष्ठ कलाकार, खेलाडी, साहित्यकार, पत्रकारलगायतलाई हिमानी आफैंले कार्यक्रमस्थल देखाइरहेकी थिइन्। ४ बजे भिड भर्खर सुरू भयो। हिमानीले स्वागत गरिरहेकी थिइन्। केहीबेरमा पूर्वयुवराज पारस पुगेर हिमानीसँग हाइहेल्लो गर्दै अगाडि उभिइरहे। सार्वजनिक कार्यक्रममा परिवारसाथ विरलै देखिने पारस आएपछि उनीतिर अतिथिहरू केन्द्रित भए।

कार्यक्रमको निर्धारित समय साढे ३ बजे तोकिए पनि पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह ढिलो गरी आइपुगेका थिए। सबै उनको पर्खाइमा थिए। उनी साढे ४ बजेतिर सोल्टी पुगेपछि कार्यक्रमस्थल छिरेका थिए। उनी छिरेपछि अतिथिहरू कार्यक्रमस्थल पुगे। केहीबेरपछि पूर्वयुवराज पारस पनि बुवा ज्ञानेन्द्र बसेकै लहरमा पुगे। ‘खासमा यस्तो ठूलो र सार्वजनिक चियापानको कार्यक्रम राखिएको यो पहिलो नै हो,’ पूर्वराजाका सहयोगी फणिराज पाठकले भने।

चाडवाडका मौलिक धुनले रोमाञ्चक पारेको कार्यक्रममा संवाददातासँग हिमानीले छोटो कुराकानी गरेकी थिइन्। ‘हाम्रो ट्रष्टले अरू सामाजिक कामसँगै पुरानो लोक संस्कृति झल्काउने बाजागाजाको जगेर्ना गर्न लागिपरेको छ, त्यसैले यहाँ पञ्चेबाजा, सारंगी, बाँसुरी र मादल राखिएको हो,’ उनले भनिन्, ‘आधुनिक जमानासँगै पुरानो हाम्रो लोक संस्कृति लोप भइरहेको छ।’ पूर्वराजा उठेर चियापानतर्फ हिँडेपछि सबैले फोटो खिच्नका लागि अनुरोध गरे। उनी पनि सहजै फोटोसेसनमा सहभागी भए। फोटो खिचिसकेपछि हिमानी, पारस र ज्ञानेन्द्र सबैले खिच्नेहरूलाई धन्यवाद भन्दै तिहारको शुभकामना दिए। कार्यक्रममा पूर्वअधिराजकुमार हृदयेन्द्र पनि पुगेका थिए। तर, पूर्वरानी कोमल भने कार्यक्रममा थिइनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति