पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मनाङमा साइक्लिङ

मनाङ, ५ कात्तिक । लामो समय कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङ्‍काे भ्रमणमा आएका छन् ।

उक्त समूहका सदस्यले बेमौसमी वर्षाका बाबजुद पनि बिहीबारदेखि यात्रा थालेका हुन् । अन्नपूर्ण पदमार्गको प्रवद्र्धनका साथै भ्रमण गरी पर्यटकलाई यात्राका बारेमा जानकारी दिने र आवश्यक प्रचारप्रसार गर्ने उद्देश्यले यत्रामा निस्किएको समूहका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा अग्लो स्थान (४९१९ मिटर) मा रहेको तिलिचो तालसम्म साइकलका माध्यमबाट नै पुग्ने योजना रहेको छ । उनीहरुले १३ दिने प्याकेज बनाएर तिलिचो ताल र अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्किएका हुन् । पहिलो दिनमा पोखराबाट यात्रा सुरुआत गरी लमजुङको बेंसीशहर हुँदै स्यागेमा पुगेर रात बसेको र दोस्रो दिन स्यागेबाट धारापानीसम्मको यात्रा भइरहेको पौडेलले बताए । उक्त समूह शुक्रबार हिमाली जिल्ला मनाङको धारापानीमा पुगेर बस्ने उनले बताए ।

“बेमौसमी वर्षाले मनाङका सडकमा धेरै समस्या रहेको छ । पर्यटन आउने मौसममा नै सडकको समस्याले धेरै असर गरेको छ । जिल्लामा भित्रिने पाहुनालाई सहज बनाउनका लागि जिल्लावासी र सम्बन्धित निकाय सजग हुनुपर्ने देखिएको छ”, संयोजक पौडेलले भने, “पदमार्गसँगै सडकमा पैदलयात्रा गर्नसमेत समस्या भएको पायौँ, सायद मौसममा सुधार भएमा सहज हुनेछ भन्ने अपेक्षा छ ।” पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन् । उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्नेछन् । आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ । त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो बेसक्याम्प, मङ्गलबार तिलिचो बेसक्याम्पबाट याक खर्कसम्मको यात्रा गर्नेछन् ।

त्यसैगरी बुधबार बेसक्याम्पबाट थोराङ्ला पास, बिहीबार थोराङ्ला पासबाट मुक्तिनाथको यात्रा तय गर्ने योजनासहित साइकलयात्रीको समूह भ्रमणमा निस्किएको अर्का संयोजक धरमबहादुर लामिछानेले जानकारी दिए । उनका अनुसार शुक्रबार मुक्तिनाथदेखि मार्फा, शनिबार मार्फादेखि तातोपानी, आइतबार तातोपानीदेखि गोडेपानी र सोमबार गोडेपानीदेखि पोखरा पुगेर यात्राको समापन गर्ने योजना रहेको छ । मौसममा केही सुधार भएपछि मनाङमा पर्यटनलाई तिलिचो तालसम्म जान दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम भएकाले पनि मौसमको अनुकूलताअनुसार पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पाससम्म गर्न दिइएको उनले बताए ।

“मौसम अनुकूल भएको अवस्थामा पर्यटकलाई आवतजावत गर्न दिइएको छ । सुरक्षा व्यवस्था पनि गरिएको छ । सबै स्थानमा सडक सहज नभए पनि सुरक्षित यात्रा गर्ने वातावरण बनाउनतर्फ लागिपरेका छौँ । मौसम सुधार भएपछि भने सडकको पनि मर्मत गर्ने तयारीमा रहेका छौँ”, प्रजिअ आचार्यले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board