काठमाडौं, ४ कार्तिक । केही दिनदेखि देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी भएको वर्षा आज (बिहीबार) देखि रोकिनुका साथै मौसम सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको बताउनुभयो ।
‘आजदेखि मौसममा सुधार आइसकेको छ। हिजो (बुधबार) रातिदेखि धेरै ठाउँमा पानी पर्न रोकिइसकेको अवस्था छ। हिजो अस्ति ठूलो वर्षा गराउने प्रणाली बाहिरिसकेको छ’, मौसमविद् पौडेलले भने ‘यद्यपि त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’उनका अनुसार आज धेरै स्थानमा घाम लाग्ने सम्भावना छ। पौडेलले भने, ‘तत्कालै २ ४ दिनलाई त्यस्तो सम्भावना छैन।
मनसुन बिदा भइसकेर पनि एकसाथ दुइटा मौसमी प्रणाली (पश्चिमी वायु र बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली) का कारण नेपालमा हिजो अस्ति ठूलो वर्षा भएको उनले बताए । मनसुन अर्थात् वर्षा याम बिदा भइसकेपछि सामान्यतया ठूलो वर्षा नहुने ठानिन्छ। तर मनसुन हटेपछि पनि केही समय वर्षा हुनु नियमित प्रक्रिया नै भएको मौसमविद्को भनाइ छ।यसपालिचाहिँ अलि बढी नै वर्षा भएको उनीहरूको ठम्याइ छ। तर यसबारे मौसमविदले केही दिनअघि नै चेतावनी जारी गरेका थिए। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्ष ९ दिन ढिला मनसुन बाहिरिएको थियो।
मौसमविद् पौडेलका अनुसार अहिले पोस्ट मनसुनको अवधि हो। विन्टर अर्थात् हिउँद याम सुरु हुनुअघिको अवधिलाई पोस्ट मनसुन भनिन्छ। डिसेम्बरदेखि भने हिउँद याम सुरु हुने उनले जानकारी दिए।
प्रतिक्रिया