काठमाडौं, ३ कार्तिक । सरकारले वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपतमा परेका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।बैठकले एकजनाको मृत्यु भएको परिवारलाई २ लाख र एकभन्दा बढीको मृत्यु भएको परिवारलाई थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए।उनले बाढीपहिरोमा परी घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरिएको पनि जानकारी दिए। गृहमन्त्री खाणले बाढीपहिरोले बिस्तापित भएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर अस्थायी बसोबासको व्यवस्था पनि गराइने जानकारी दिए। मन्त्रिपरिषद् बैठकले बाढीले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन गरेर राहत प्याकेज सहयोग उपलब्ध गराउने पनि निर्णय गरेको मन्त्री खाणले बताए।सरकारले पहिरोले बगाएका घर निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ।मन्त्री खाणले आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा एक घरका लागि पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिइने बताए।‘निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने सरकारी मापदण्ड छ,’ उनले भने, ‘त्यहीअनुसार हुन्छ। त्यसबाहेक जमिन खरिद गर्न तीन लाख रुपैयाँ दिने निर्णय भएको छ।’
सरकारले बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई दुई लाख राहत दिने
प्रतिक्रिया