हिमपातका कारण दुई विदेशीसहित १० पर्यटक मेरापिक क्षेत्रमा फसे

सोलुखुम्बु, ३ कात्तिक । निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन् ।

जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन् ।

प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरु पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन् । त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन् । उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए । मौसम प्रतिकूलका बीच पनि उनीहरुको उद्धारका लागि महाकुलुङको खारेबाट सातजना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन् ।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चारजना बसेको भए पनि उद्धारमा पुगेकाहरुले तीनजनालाई जटिल अवस्थामा भेटेको बताए । हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरुसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ ।

“मेराला ओडारमा भेटिएका तीनजनाको अवस्था जटिल छ भन्ने खबर आयो”, कार्कीले भने, “हिजोदेखि हेलिकप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकूल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्डयन प्राधिकरणको कार्यालय काठमाडौँमै छु ।” मौसम अनुकूल हुनसाथ उद्धारका लागि हेलिकप्टर पठाइने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board