अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्नेः महासचिव पोखरेल

गण्डकी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आफ्‍नाे पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए । उनले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने बताए ।

शुभकामना आदानप्रदान कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा दशैँ, तिहार, छठ, ईद ल्होसार एवं नेपाल संवद् ११४२ का अवसरमा बुधबार पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी पार्टी महासचिव एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेता खगराज अधिकारीलगायत ।

जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने विश्वास व्यक्त गरे । नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताउँदै देशव्यापीरुपमा सङ्गठन सुदृढीकरण अभियानमा अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री खगराज अधिकारीले एमालेलाई थप सङ्गठित बनाएर आगामी निर्वाचनमा राज्यको नेतृत्व गर्न सक्ने गरी अघि बढाउनुपर्ने बताए । पार्टी पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री जगत विश्वकर्माले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सङ्गठित भएर अघि बढ्न सङ्कल्प लिनुपर्नेमा जोड दिए । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले नेकपा एमालेको नेतृत्वको सरकारले गरेका जनपक्षीय कामलाई निरन्तरता दिनका लागि आगामी सङ्घ, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउनेतर्फ कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board