विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशियाे, चर्को घाटामा निगम आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्नेः निगम प्रवक्ता

काठमाडौँ, १ कात्तिक । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।


आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा रु दुई अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ । अक्टोबर १६ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार ३७५ रुपैयाँ दुई पैसा कायमै छ । आइओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।


पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ । पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टितेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।


ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ एक पैसा, डिजेलको प्रतिलिटर रु १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर रु ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिण्डर एक हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ । काठमाडौँमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ०.७७ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४५० तोकिएको छ ।


पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर चार रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ । निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट रु ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट रु एक अर्ब नौ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट रु ११ लाख र एलपी ग्यास बिक्रीबाट रु ७५ करोड ७० लाख गरी दुई अर्ब २२ करोड छ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।


पन्ध्र दिनमा मट्टितेल बिक्रीबाट रु दुई करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ । विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । छ/सात वर्ष अघिको रु ३७ अर्ब ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो । गत आवमा निगम फेरि करिब रू तीन अर्ब घाटामा गएको छ । पछिल्लो तीन महिनामा निगम छ अर्ब घाटामा गएको प्रवक्ता उपाध्यायले बताए । निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशङ्का गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ । भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६०५ रुपैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रामूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४३० छ ।


नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ । निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति