‘तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ’ – अध्यक्ष ओली


काठमाडौं, २८ असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताए । दशैँ, दीपावली, छठ र नेपाल संवतको अवसरमा आज बिहीवार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरू के–के भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेकाका एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’ को सम्भावनासमेत रहेको दाबी गरे । आफूले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र पालिकाको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्र गतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे ।
नागरिकको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे ।

उनले दशैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरे । उनले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आओस् भनी शुभकामनासमेत व्यक्त गरे।

विसं २०५० सालदेखि बडादशैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन् । गएको वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल, सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त राखेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board