लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा आन्तरिक पर्यटकको चहलपहल

रसुवा, २६ असोज । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् ।


लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल व्यवसाय सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार घटस्थापनादेखि आन्तरिक पर्यटकको आगमन सुरू भएको हो । उनले हिमाली प्रकृति छटा अवलोकन गर्न करिब एक हजार पदयात्री लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रका भ्रमणमा रहेका र आगमनको क्रम बढ्दै गएको जानकारी दिनुभयो । पर्यटकको आगमन हुन थालेपश्चात भोजनका लागि उक्त पदमार्गका पर्यटन व्यवसायीले खच्चडद्वारा खाद्यान्न ढुवानी गर्ने काम धमाधम अगाडि बढाएका छन् ।


पर्यटकको आगमनसँगै बन्द रहेका होटल तथा लज धमाधम खुल्न थालेका छन् । गोसाइँकुण्ड क्षेत्रमा १७ र लाङ्टाङ क्षेत्रमा ५० भन्दा बढी होटल तथा लज रहेकाले पैदलमार्गमा खान–बस्न कुनै समस्या नपर्ने व्यवसायीहरूले स्पस्ट पारेका छन् । दिनप्रतिदिन मौसमको सुधारबाट अग्ला सेता हिमाल देखिन थालेको, पदमार्गमा हिँड्दा जुकाले टोक्ने, भिरबाट ढुङ्गा लड्ने, चिप्लनेजस्ता समस्या हटिसकेकाले अबको पदयात्रा रोञ्चकारी हुने पदयात्रीले अनुभव लिएका छन् । पदयात्राका क्रममा अवलोकनका लागि लाङ्टाङको क्याङ्जेनस्थित मानव बस्ती नजिक रहेको हिमनदी, अग्ला हिमाल, मिश्रण वनस्पति, वन्यजन्तु रहेका छन् । यसैगरी गोसाइँकुण्डतर्फ भने देवताका पनि देव महादेव भगवान् शङ्कर गोसाइँकुण्ड शिवजी बिराजमान रहेका पवित्र कुण्डमा स्नान र पूजाआजा गर्दा आफ्ना मनेकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।


पदयात्रीलाई नजिकजस्तै देखिन सकिने हिमाल, उकाली, ओराली भञ्ज्याङ चौतारी, वन, वनस्पति, वन्यजन्तुजस्ता सम्पदाले मनमोहक बनाउने गरेको छ । कोरोनाकै कारण बन्द रहेको पर्यटकीय पदमार्ग चलायमान हुन थालेसँगै आफूहरु उत्साहित हुन थालेको होटल व्यवसायीले जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board