पौडेल समूहबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व नहुने

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह तत्काल सरकारमा सहभागी हुने सम्भावना कम देखिएको छ। पार्टीको भागमा परेकामध्ये तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको पौडेल समूह भनेअनुसार नहुने भएपछि तत्काल सरकारमा सहभागी हुने सम्भावना न्यून देखिएको हो।

गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। तर पार्टी सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले दुई मन्त्रालय मात्रै दिने बताएपछि पौडेल समूह छलफल निष्कर्षमा नपुग्दै बैठकबाट बाहिरिएको थियो। त्यसअघि सोही दिन वरिष्ठ नेता पौडेलको निवास बोहराटारमा मन्त्रीका लागि सिफारिस गरिने नामका बारेमा छलफल गर्न उक्त समूहको बैठक बसेको थियो। बैठकमा पौडेल समूहका नेताहरूले मन्त्रालयको संख्या टुंग्याएर मात्रै नामका बारेमा छलफल गरिनुपर्ने सुझाव राखेको बताइएको छ। बालुवाटारबाट बाहिरिएपछि पौडेल समूहले मन्त्रीको नामबारे समूहमा छलफल नगरेको बोहराटारनिकट स्रोतले जनाएको छ।

स्रोतले शुक्रबार पौडेल समूहबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको दाबी गरेको छ।‘अस्ती तीन मन्त्रालय दिनुपर्ने माग राखेयता मन्त्री पठाउनेबारे सामूहिक छलफल भएको छैन’, एक स्रोतले भन्यो, ‘आज (शुक्रबार) यताबाट कसैको नाम जाने सम्भावना देखिँदैन। फेरि महामन्त्री बिहानै काठमाडौं बाहिर निस्कनुभएछ।’प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा महामन्त्री डा. शशांक कोइराला उपत्यकाबाहिर जानुलाई इतर समूह तत्काल सरकारमा सहभागी नहुने अनुमान गरिएको छ। स्रोतका अनुसार महामन्त्री कोइराला सिन्धुपाल्चोकको मेलम्चीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन्।प्रधानमन्त्री देउवा पौडेल पक्षलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एउटा मन्त्रालय दिने योजनामा छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति