काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् ।श्रेष्ठलाई देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन् ।
सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको आलोचना भएको थियो । तर, पछिल्लो समय राज्यमन्त्रीका रुपमा श्रेष्ठले राम्रो काम गर्ने कोशिस गरेको चर्चा हुँदै आएको छ ।उनले राज्यमन्त्री भएपछि राज्यबाट पाउने सेवा सुविधासमेत लिएका छैनन् । मन्त्रालय भागबण्डाका क्रममा स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीको भागमा परेपछि उनी राज्यमन्त्रीबाट हट्ने लगभग निश्चित भएको हो । प्रधानमन्त्री देउवाले भने श्रेष्ठलाई नै स्वास्थ्यमन्त्रीमा निरन्तरता दिने अडान राखेका थिए ।
‘स्वास्थ्य मन्त्रालय नै कांग्रेससँग रहेन । त्यसैले अब उहाँ हट्ने त पक्का हो,’ एक नेताले भने, ‘उहाँलाई अब अर्को जिम्मेवारी दिने वा हटाउने विषय त प्रधानमन्त्रीको कुरा हो ।’ ती नेताका अनुसार अरु थुप्रै केन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ नेताहरुले पनि अवसर नपाएका कारण श्रेष्ठलाई राज्यमन्त्रीबाटै हटाउनुपर्ने दबाब देउवामाथि छ ।अर्का एक नेताले भने देउवाले श्रेष्ठलाई विनाविभागीय मन्त्रीको रुपमा जिम्मेवारी पाउने सम्भावना रहेको बताए । सत्ता गठबन्धन शीर्ष नेताहरुले बिहीबारको बैठकबाट मन्त्रालय बाँडफाँटको विषय टुंग्याएर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका हुन् ।
प्रतिक्रिया