यात्रुसँग बढी भाडा लिन खोज्ने ९ जना विचौलिया पक्राउ

काठमाडौं, २१ असोज । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना विचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। विभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसरीका २८ वर्षे सविन राई पक्राउ परेका हुन्।त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षे विशाल गुरुङ र कैलालीका २९ वर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन्।उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।

त्यसैगरि कलंकीबाट वर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका वर्ष ३७ को बिनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ।विगतका वर्षहरुमा झैँ चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप अत्याधिक हुने गर्दछ।

यस्तो भीडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवम् अनुगमन गर्न टोली परिचालन गरेको छ।ट्राफिक प्रहरीको सादा पोसाकमा खटिएको टोलीले उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिहरुलाई निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरूसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरुले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति