कांग्रेसले मन्त्रीको नाम टुंग्याउन सकेन

काठमाडौं, २० असोज । कांग्रेसका तर्फबाट मन्त्री बन्नेको नाम टुंग्याउन बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई आफ्ना तर्फबाट ३ जना मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

तर, देउवाले पौडेलको प्रस्तावबमोजिम मन्त्री बनाउन नसकिने बताएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । ‘हामीले ३ जना हुनुपर्छ भनेर माग गर्‍यौँ । उहाँले सकिँदैन भन्नुभएको थियो,’ बैठकपछि एक नेताले भने, ‘त्यसपछि हामी उठ्यौँ । मलाई त भोलि नै मन्त्रिपरिषद् विस्तार होला भन्ने लाग्दैन ।’प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेता सहभागी थिए ।

बालुवाटार बैठकअघि पौडेल र सिटौलाले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेका थिए । पौडेल समूहले कांग्रेसले पाउने ७ मन्त्रालयमध्ये त्यसको ४० प्रतिशत बराबरको संख्यामा आफूहरुले भाग पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दा गठबन्धनमा बल्ल मन्त्रालय बाँडफाँडको सहमति भएको छ । तर, दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा भने अझै केही दिन लाग्न सक्ने देखिएको छ ।

हाल कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र, ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भइसकेका छन् ।देउवाले यसअघि आफ्नै गुटका नेताहरुलाई मात्रै मन्त्री बनाएको भन्दै पौडेल समूह असन्तुष्ट बनेको हो । पौडेल समूहले अब बन्ने मन्त्रीमध्ये तीन मन्त्री आफ्नो समूहबाट हुनैपर्ने दाबी गरेको छ । मंगलबारको सहमतिबमोजिम कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति