सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगाना बर्खास्त

काठमाडौं, १९ असोज । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो ।

सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई बर्खास्त गरेको ती मन्त्रीको भनाइ छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए । यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत यो प्रकरणमा नाम जोडिएको छ । उक्त प्रकरणपछि ढकालले बोर्डमा हुने महासंघको प्रतिनिधिको पदबाट राजीनामा दिइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति