अध्यक्ष मात्रै घोषणा गरेर सकियो अखिल क्रान्तिकारीको सम्मेलन


काठमाडौं, १९ असोज। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ ।

सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्पन्न गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।

‘अध्यक्षमा पञ्चा सिंहबाहेक अरु कुनै पनि पदाधिकारीरकेन्द्रीय समिति बन्द सत्रको हलले टुंग्याउन सकेन,’ अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले भने, ‘सम्मेलन सम्पन्न भयो ।’सोमबारको बन्दसत्रमा पदाधिकारी, प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यहरु घोषणा गर्ने तयारी थियो । फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहितका नेताहरू आन्तरिक सहमतिबाट नामावली घोषणाको अन्तिम तयारी गरी बन्दसत्रको हलमा प्रवेश गरेका थिए ।

तर त्यसअघि नै अखिल क्रान्तिकारीको महासचिव दीपेश पुन बनेको समाचार मिडियाहरुमा सार्वजनिक भइसकेको थियो । जबकि बन्दसत्रमा फ्याक्सन इन्चार्जले नामावली प्रस्तुत गर्ने र हलले पास गर्ने प्रक्रिया पूरा हुन बाँकी नै थियो ।

महासचिवमा पुनको नाम सार्वजनिक भएलगत्तै महासचिवका दाबेदारहरु असन्तुष्ट थिए । महासचिवमा दीपेश पुनसँगै पवन कार्कीको पनि दाबी थियो ।

दीपेशको नाम मिडियामा पहिल्यै सार्वजनिक भएपछि फ्याक्सन इञ्चार्ज शाक्यले हलमा पदाधिकारीहरुको नामावली वाचन गर्न नपाउँदै होहल्ला हुन थाल्यो । असन्तुष्ट पक्षले महासचिवमा दीपेशलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गर्न थाल्यो ।

स्थिति असामान्य भएपछि फ्याक्सन इन्चार्ज शाक्यले अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्मेलन सकिएको घोषणा गरिदिए ।

फ्याक्सन इञ्चार्ज शाक्य नै पार्टीको आधिकारिक व्यक्ति भएकाले अब उनैले अध्यक्ष बाहेकका बाँकी पद टुंगो लगाउने एक नेताले बताए ।

यद्यपि पुनले भने फ्याक्सन इञ्चार्ज शाक्यले महासचिवसहितका सबै पदाधिकारी टुंगो लगाइसकेको बताउँछन् । आफू वरिष्ठ उपाध्यक्ष पदमै रहन खोजेको तर महासचिवका दावेदारहरुबीच सहमति हुन नसकेपछि फ्याक्सन इञ्चार्ज शाक्यले आफूलाई महासचिव बनाएको पुनको भनाइ छ ।

बन्दसत्रको हलमा विधानमा उल्लेख भएको भन्दा धेरै सदस्य राखेर समिति बनाउन खोजेपछि विरोध भएको उनले बताए । पुनले भने, ‘हलमा विधानभन्दा नबढाउने भन्ने आवाज उठेको हो । त्यो विषय मेरो पनि हो ।’ २०७४ सालमा भएको २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति २४३ र पदाधिकारी ३३ सदस्यीय थियो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि विद्यार्थी संगठनहरु पनि एकता प्रक्रियामा जाँदा अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय र पदाधिकारी २५ सदस्यीय बनाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति