मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी, आज भागवण्डा मिले भोली सपथ हुने

काठमाडौं, १७ असोज ।सरकार गठनको लामो समयपछि सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने अन्तिम तयारी गरेको छ । गठबन्धनमा मन्त्रालयको भागवण्डाका विषयमा कुरा मिल्न नसक्दा रोकिएको मन्त्रिमण्डल विस्तारको काम सोमबारसम्म टुंगो लगाउने गरी नेताहरु छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनले आज साँझसम्म मन्त्रालयको भागवण्डा मिलाएर सोमबारसम्म विस्तार गरिसक्ने बताइएको छ । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले सोमबार मन्त्रीहरुलाई सपथ गराउने तयारी भएको बताए। सोमबारसम्म दलहरुबीच सहमति जुट्न नसके मंगलबारसम्म सरकारले पूर्णता पाउने उनको भनाई छ । कांग्रेस एक्लैले चाहेर मात्रै सरकारले पूर्णता पाउने सम्भावना नभएकाले सबै दलहरुलाई मिलाएर अगाडी बढ्दा केही ढिला भएको उनको भनाई छ ।

उनले भने, ‘सरकारले पूर्णता नपाउनुमा सबैको उत्तिकै दोस छ । गठबन्धनमा रहेका दलहरुभित्रको असन्तुष्टि र राजनीतिक अध्यादेशका कारण पनि केही समय ढिला भयो । पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष अस्वस्थ भएकाले केही समय कुर्नुपर्यो । अब ढिलोमा मंगलबारसम्म हुन्छ ।’

कार्यदलमा सबै विषय टुंग्याउने र केही विषय बाँकी रहेमा साँझसम्म गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट मन्त्रिपरिषद्मा पोर्टफोलियो र भागबन्डाको विषयमा सहमति जुटाउन नेताहरु छलफलमा रहेका छन् । सत्ता गठबन्धन कार्यदलको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपपरिषद्मा पोर्टफोलियो र संख्याका विषयका साथै आगामी अवधिका लागि सरकारको प्रभावकारिता स्थापित गर्न सामूहिक रूपमा गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको बताइएको छ ।

गएको असार २९ गते सरकार बने पनि सत्ता गठबन्धनका दलहरूले वैधानिकता प्राप्त गर्ने अवधि तथा दलविहीन भएका माधवकुमार नेपाल र महन्थ ठाकुरलाई दलीय मान्यता दिन ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले सिर्जना गरेको त्रासका कारण सरकार विस्तार हुन सकेको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति