एनआरएनए चुनाव : काँग्रेस र माओवादीको ‘सर्कुलर’ले हलचल

काठमाडौँ, १६असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा उम्मेदवारी दिएका कुल आचार्यको समूहलाई जिताउन कांग्रेसले शुक्रबार आफ्नो संगठनलाई निर्देशन दिएको छ । कांग्रेसका महमन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा असोज ७ गते बसेको बैठकले कांग्रेस आबद्ध विदेशस्थित सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको समूहलाई जिताउन निर्देशन दिएको हो ।

बैठकले एनआरएनको लागि क्षेत्र हेर्ने केन्द्रीय नेतासमेत तोकेको छ । युरोप क्षेत्रको लागि सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापा, एसिया क्षेत्रको लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य मिलेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व र नेपाली जनसर्म्पक समितिका लागि केन्द्रीय सदस्य एवं नेपाली जनसर्म्पक समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।

एनआरएनको १० औं महाधिवेशनको लागि आचार्य, बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । महधिवेशन कात्तिक ६–८ देखि काठमाडौंमा हुँदैछ । यसपटकबाट प्रतिनिधिले विश्वभरबाट अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । यी तीन वटा समूहमा सबै विचारधारा बोक्ने उम्मेदवार भए पनि कांग्रेसले आचार्यको समूहलाई लोकतन्त्रवादी समूह भनेको छ ।

माओवादीले कुन समूहलाई समर्थन गर्ने भनेर तोकिसकेको छैन । माओवादी निकट जनप्रगतिशील मञ्चले आचार्यलाई समर्थन गर्नु भन्दै पार्टीमा लबिङ गरिरहेको छ । असोज ६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले एनआरएनको नेतृत्व चयनका लागि निर्देशिका नै बनाएको थियो । ‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय (वैष्विक) सम्मेलन छिट्टै सम्पन्न हुन गइरहेकोमा उक्त सम्मेलनलाई विधिसम्मत एवं उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्नेछ’, अध्यक्ष दाहालद्वारा पठाइएको परिपत्रमा लेखिएको छ,‘यसको नेतृत्व निर्माण सम्बन्धमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरुको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइनेछ ।’

एनआरएनका एक संस्थापकका अनुसार राजनैतिक हस्तक्षेपले प्रवासको समुदायमा बढी राजनैतिक विभेद बढी देखिन थालेको छ । ‘राजनैतिक हस्तक्षेप बढी भयो । पहिला पहिला हामी विश्व सम्मेलन गर्नुअघि सबै राजनैतिक दलका प्रमुखसँग शिष्ट्राचार भेट हुन्थ्यो । अहिले आफैं गएर हामीले के निर्णय गर्ने हो भनेर सोध्न थालियो । हामी आफैंले बिगारेको हो,’ एक संस्थापक भन्छन्,‘असाध्यै राजनैतिक सक्रिय भइदिएकोले प्रवासमा रहेका सबै नेपालीलाई जोड्ने भन्दा फुटाउने काम भयो । एनआरएनको उद्देश्यभन्दा गलत दिशातर्फ गइरहेको छ । हामी चिन्तित छौं ।’
एनआरएनएमा हलचल
काँग्रेस र माओवादी केन्द्रले प्रजातन्त्रवादी समूहलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि एनआरएनएमा हलचल भएको छ । विशेषगरी बद्री केसी समूहमा हलचल भएको हो । केसी समूहमा माओवादी निकट केही उम्मेदवार अझैपनि खुलेको अवस्थामा अब के गर्ने भन्नेबारे आन्तरिक छलफल सुरु भएको केसी निकट एक एनआरएनए अभियन्ताले बताए ।केसी एमाले निकट रहेको बताइन्छ । काँग्रेस र माओवादी एकातिर हुँदा एमाले निकटका केसीलाई निकै सकस पर्ने बताइन्छ । केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएको छ । तर माओवादीले केसी पक्षतिर लागेका आफ्नो संगठन निकटका एनआरएनए अभियन्ताहरुलाई पार्टीको नीतिअनुसार लाग्न निर्देशन दिइसकेको बताइएको छ भने उनीहरु नफर्किएमा संगठनबाट कारबाही गर्नेलगायतका तयारी भएको स्रोतले बताएको छ ।
उसो त एनआरएनएमा प्रतिनिधि चयनमा देखिएको धाँधली लगायतको उजुरीबारे समेत टुंगो लागेको अवस्था छैन । एनआरएनएका केही अभियन्ताले परराष्ट्र मन्त्रालयमा दिएको उजुरीको टुंगो नलागेको हो । उजुरीको टुंगो समयमा नलाग्दा तोकिएको समयमा चुनाव हुने नहुनेमा स्वयम् उम्मेदवारले समेत आशंका व्यक्त गर्दै आएका छन् । स्मरणरहोस्, एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक प्रभाव भने हावी हुने गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति