काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
स्थायी कमिटीको शनिबार बसेको बैठकले अध्यक्षका सम्भावित दाबेदारहरूका नाममाथि छलफल गरेको र अध्यक्ष चयन गर्ने जिम्मा दाहाललाई दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराले अध्यक्ष दाहालले शनिबार नै क्रान्तिकारीको अध्यक्ष चयन गर्ने पनि जानकारी दिए ।
अनेरास्वविय (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिने निर्णय भएको छ । उहाँले आजै निर्णय गर्नुहुन्छ, महराले भने, अहिलेका उपाध्यक्षहरूदेखि लिएर सबै अध्यक्षका सम्भावित दाबेदार नामहरूको चर्चा भएको छ । सबै समान क्षमता राख्छन् र कसलाई चयन गर्ने भन्ने जिम्मा अध्यक्षलाई दिइएको छ ।अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी रहेको छ । बिहीबारदेखि जारी अधिवेशन शनिबार सकिने कार्यक्रम छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया