काठमाडौ, १६ असोज । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए। पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अवको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष प्रचण्डको दावी छ । अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए। उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरी एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन। उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाल फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन नि । तिनको सातो खाने । पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे । छाती खोलेर भन्नु होलीले ल्याएको हो गणतन्त्र । हामीले बनाएको हो संविधान । यिनीहरु विरोधि हुन भन्दै हिँडनुहोस । पार्टी कमिटी बनाउनुस, जनतामा जानुस । को बेईमान हो बुझाउनुस । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं । यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ । देशको रक्षा गर्नु पर्छ ।’
अध्यक्ष प्रचण्डले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क समेत गरे। उनले केपी ओली एक्लै केही नभएको पनि बताए। अध्यक्ष प्रचण्डले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहो¥याए। उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए। उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिए। अध्यक्ष प्रचण्डले भने, ‘आज म खुसी छु । अव म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ । शेरबहादुर जीले मलाई पार्टी एकता भईसकेको थिएन चुनाव भईसकेको थियो । मलाई भन्नु भयो, पाँच वर्ष नै तपाई प्रधानमन्त्री हुनुस । हामी फ्लोवरमा बसेर समर्थन गर्छौं तपाईँलाई । तर जनतको बीचमा जान छोडेर प्रधानमन्त्री खान खोजे भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भए, मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाईन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाईदिनुस भनेर शेरबहादुर जीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’ अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहो¥याए। तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाई थियो ।
प्रतिक्रिया