काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौं जिल्लामा पालिका अधिवेशन प्रक्रिया सुरु भएको छ ।काठमाडौं महानगरको अधिवेशनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा नेता सिंहले पार्टीमा काम गर्न नसक्नेहरुलाई नेतृत्वबाट हटाउनुपर्ने बताए ।
उनले अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई फेरि गुणगान गाएर त्यही मान्छे चाहिन्छ भन्नु सान्दर्भिक नहुने बताए । ‘शेरबहादुर दाई, रामचन्द्र दाइ, अरु थुप्रै नेताहरु हुनुहुन्छ । उहाँहरुले धेरै ठूलो संघर्ष गर्नुभएको छ, डेमोक्रेसीलाई यहाँसम्म ल्याउनको लागि । तर अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई फेरि गुणगान गाएर त्यही मान्छे चाहिन्छ भन्नु यो कति सान्दर्भिक हुन्छ ?,’ नेता सिंहले प्रश्न गर्दै अघि भने, ‘व्यक्तिगत रुपमा मेरो त केही छैन । एकदमै माइ डियर दाजुहरु हुनुहुन्छ । मेरै आँखाले देखेको छु, कति दुःख, संघर्ष गर्नुभएको छ । जेल जानुभएको छ । तर काम गर्न नसक्ने मान्छेहरुलाई नेतृत्व दिएर कांग्रेसलाई कहाँ पुर्याउन खोजेको ?’ नेता सिंहले देउवा र पौडेलले अब सम्मानजनकरुपमा विश्राम लिनुपर्ने बताए । ‘०१७ सालपछि म सानै थिएँ । सिद्धान्त र आदर्शको, मूल्य र मान्यताको लागि राजनीति गर्ने नेताको परिवारको दुःखकष्ट कत्तिको हुन्छ भन्ने कुरा मैले भोगेको छु ।
म गणेशमान सिंहको छोरा, चाक्सीबारीमा बस्ने । गणेशमानजीको परिवारले यति दुःख पायो भने त्यो जिल्ला जिल्लामा बसेर, अडेर बहुदलीय व्यवस्था चाहिन्छ, नागरिक स्वतन्त्रता लडेकाहरुको कत्ति दुःख कष्ट पर्यो होला ?,’ उनले भने, ‘अहिले त यसै उडाउने चलन छ, आफुले भोगेको भए पो थाहा हुन्छ ? डेमोक्रेसी ल्याउनका लागि हाम्रो पार्टी सभापतिको पनि ठूलो योगदान छ । म मान्छु । त्यसैले अब उहाँहरुले सम्मानजनक रुपमै बिदा लिनुपर्छ ।’उनले महाधिवेशनमा नेता हुन प्रतिस्पर्धा गर्ने, तर काम नगर्ने र पदीय जिम्मेवारी पूरा नगर्ने समस्या रहेको बताए । महाधिवेशनमा पदाधिकारी बन्न होडबाजी गर्ने, केन्द्रीय सदस्य हुन होडबाजी हुने, अनि निर्वाचित भएपछि चाहिँ आफ्नो पदीय जिम्मेवारी कसैले पूरा गर्नु नपर्ने ?,’ उनले प्रश्न गरे ।नेता सिंहले देउवाले अवसर पाएर पनि पार्टीमा काम गर्न नसकेको आरोप लगाए । ‘उहाँले १३ औँ महाविधेशनपछि अवसर पाउनुभएकै हो ।
तर, त्यहीकारण आज कांग्रेसको हालत के छ ? त्यो त सबैलाई थाहै छ । हामीले योभन्दा अघिका धेरै महाविधेशन देखेकै छौँ । अहिले त महाधिवेशन प्रारम्भ भइसक्यो, तर अझै चार जिल्लामा क्रियाशील सदस्यता नै टुंगिएको छैन,’ उनले भने, ‘मलाई त भन्दा पनि दुःख लाग्छ । पार्टी सभापतिकै जिल्लामा रिले अनसन चलिरहेको छ । लोकतान्त्रिक पार्टीको अधिवेशनमा सबैको सहभागिता हुनुपर्दैन र ?’नेता सिंहले काठमाडौं उपत्यकाले आफ्नो नेतालाई सधैँ सानो देख्ने र बाहिरबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको बताए ।
‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने, बाहिरबाट आएको नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्यकाबासीले कहिलेसम्म बोक्ने ? ,’ नेता सिंहले प्रश्न गर्दै भने, ‘पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको छु, काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो र ?’
प्रतिक्रिया