काठमाडौँ, १६ असोज ।नेपालस्थित कतारी दूतावासले चन्द्रागिरि हिलमा फुड फेस्टिभल आयोजना गरेको छ । कोभिड–१९ संक्रमणका कारण निकै अघिदेखि गर्न नसकेको फुड फेस्टिभल दूतावासले शुक्रबार आयोजना गरेको हो ।दूतावासले गत फेब्रुअरीमा नै फुड फेस्टिभल आयोजना गर्ने तयारी गरे पनि कोभिड–१९ को संक्रमण दर बढेकाले स्थगित गरेको थियो । अहिले कोभिड संक्रमण घटेको अवस्था भएकाले मानिसहरूको चहल पहल बढेको साथै सबैमा फेस्टिभ मुड देखिएको अवस्थामा फुड फेस्टिभल आयोजना गरिएको दूतावासले जनाएको छ ।चन्द्रागिरि हिल्समा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबलकारमार्फत ढुवानी गरेर कतारी (अरबीक) र अन्य विदेशी खानाको स्वाद पस्किएको हो । फेस्टिभलका लागि कतारी दूतावाससँग चन्द्रागिरि हिल्स प्रालिले सहकार्य गरेको हो ।

फेस्टिभलका लागि हिल्सले कार्यक्रम स्थल र अन्य खाना उपलब्ध गराएको थियो भने कतारी दूतावासले कतारी ९अरविक० परिकार पस्किएको थियो । कोभिडले थलिएको नेपालको पर्यटन क्षेत्रलाई कतारी दूतावास र चन्द्रागिरि हिल्सको संयुक्त आयोजनामा सम्पन्न फेस्टिभलले आशा जगाउने काम गरेको बताइएको छ ।उक्त फेस्टिभलमा औपचारिक कार्यक्रम भने राखिएको थिएन । फेस्टिभलमा उपस्थित आगन्तुकहरू प्राकृतिक दृष्यावलोकन गर्दै खाना खाइरहेका देखिन्थे । कार्यक्रममा कूटनीतिक नियोगका सबैजसो अधिकारीहरूको उपस्थिति थियो । काठमाडौमा रहेका अन्य मुलुकका राजदूतको पनि उपस्थिति रहेको कार्यक्रम नेपालका लागि युएइका राजदूत एक एम्बास्डर डिन सैद हम्दान अल नक्वीको उपस्थितिपछि अघि बढेको थियो ।
केबलकार चढेर चन्द्रागिरि हिल पुगेका सहभागीहरू त्यहाँबाट सानो मोटरमार्फत होटल पुगेका थिए । उनीहरूले होटलको स्टलमा दूतावासले तयार पारेको अरविक र चन्द्रगिरि हिल्सले उपलब्ध गराएको खानाका परिकारहरूको स्वाद लिएका थिए । फेस्टिभलमा नेपाली तथा विदेशीहरू सहभागीहरू त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । कतारले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्ने र विकासमा सहकार्य गर्ने बताउने मात्र होइन हाइकिङ गराउनेदेखि धेरै विषयमा ठोस रूपमा सक्रिय रहँदै आएको छ ।कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आगन्तुकलाई स्वागत, सत्कार गरेका थिए ।
प्रतिक्रिया