काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै रहेको बताएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले कांग्रेस पुँजीवादी, नवउदारवादी र यथास्थितिवादी भए पनि तत्कालको लागि एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस नै रहेको बताएका हुन् । कांग्रेसलाई ओलीले राष्ट्रियताको विषयमा ढुलमुले नीति भएको पार्टीको आरोप पनि लगाएका छन् । ओलीले आफ्नो प्रतिवेदन पुरै पढ्न नसकेपछि स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पढ्न दिएका छन् । ओली अस्वस्थ रहेको बताइएको छ । ‘कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’ ओलीले प्रतिवेदनमा भनेका छन् ।
उनले माओवादी केन्द्रबारे पनि बोलेका छन्। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन्।
त्यसैगरी मधेस केन्द्रित दल सङ्कीर्ण रहेको पनि उनको निष्कर्ष छ। मधेस केन्द्रित दल संकिर्ण, यथास्थितिवादी र राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छु, ओलीले भनेका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै अहिले पनि कतिपय दलहरु राजतन्त्र फर्काउन लागिरहेको बताएका छन्। कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्, ओलीको प्रतिवेदनमा भनिएको छ, यसमा हाम्रो आपत्ति र विरोध छ।
उनले बहुदलीय प्रतिस्पर्धाको नीति लिएकाले कुनै पनि दललाई दुश्मन घोषणा नगर्ने बताएका छन्। बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छु, ओलीले भनेका छन्।
ओलीले नेपालको विभेदपूर्ण वितरण प्रणालीले नेपालीहरुलाई समस्या भएको पनि बताएका छन्। नेपाली जनता न्याय, समानता, विकास र समृद्धि चाहन्छन्। यति ठूलो परिवर्तन पश्चात् आफ्ना दशकौँ पुराना आशा र सपना पूरा हुने उनीहरुको अपेक्षा बिल्कूल जायज र स्वाभाविक छु, उनले भनेका छन्, तर वर्तमान उत्पादन पद्धति पछ्यौटे छ, जसले उनीहरुका आकाङ्क्षा पूर्तिमा बाधा पारिरहेको छ। वितरण प्रणाली विभेदपूर्ण छ।
प्रतिक्रिया