म्याग्दी, १४ असोज । प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो ।
लगभग पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड जिल्ला प्रशासन कार्यालयले यही असोजको पहिलो सातादेखि स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न अनुमति दिएको हो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन आउने गरेका र कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको केसीले बताए ।
पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । कुण्डको पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया