महोत्तरी, १२ असोज । स्थानीय तहको निर्वाचन भएको ४ वर्षपछि महोत्तरीको एउटा वडामा पुन मतगणना हुने भएको छ । मनरासिशवा नगरपालिका वडा नम्बर १० मा मतगणनामा धाँधली गरी अरुणकुमार चौधरीले वडाध्यक्षको पदभार ग्रहण गरेको भन्दै ‘दोहोर्याई मतगणना गरी पाउँ’ भनी परेको रिट निवेदनमा उच्च अदालत जनकपुरले पुन: मतगणना गर्न आदेश दिएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले २०७५ असार २१ गते पुनस् मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेशउपर विपक्षी अरुणकुमार चौधरीले सर्वोच्चमा निवेदन दिएपछि सर्वोच्चले पनि उच्च अदालतकै आदेशलाई २०७७ चैत २९ मा सदर गरेको थियो ।
सर्वोच्चले सदर गरेलगत्तै कोभिडका कारण मतगणनाको मिति तोक्न नसकेको उच्च अदालतले गत असोज १० गतेको आदेशमा कात्तिक ७ गते बिहान ११ बजेदेखि पुन मतगणनाको समयत तोकेको छ ।
निर्वाचनपछि २०७४ असोज २ गते भएको निर्वाचनको नतिजा प्रकाशनमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका रमेशकुमार रायले ६७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट चुनाव लडेका अरुणकुमार चौधरीले ६४ मत प्राप्त गरेका थिए । तर निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर भएका ३ मत चौधरीको पक्षमा जोड्दै बराबर मत बनाइदिएको रायको आरोप छ ।

प्रतिक्रिया