रौतहट ११ असोज । हत्या आरोपमा पक्राउ परेका ३ जनालाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ । गत भदौ २६ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटारमा ५० वर्षिय रोहिणी प्राद घोरासैनीको शव पिरपिरे रुखको हाँगामा फेला परेको थियो । घोरासैनीको शव कालापानी सामुदायिक वन जंगलको झाँडीमा गम्छाको पासोमा झुण्डिएको अवस्थामा थियो । घटना लगतै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा खटि गएको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
सुरुमा आत्महत्या जस्तो देखिएपनि घटनास्थल र शवको प्रवृति हेर्दा शंकास्पद देखिएपछि प्रहरीले गहिरिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक लामिछानेको भनाइ छ ।
प्रहरी र स्थानीयलाई गुमराहमा राख्न घटनाका योजनाकारहरुले हत्या गरिसकेपछि रुखमा झुण्डाएको अनुसन्धानबाट खुलेको उनले बताए ।
प्रहरीले घटनाका संलग्न रहेको आरोपमा चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुुयाँल, सिन्धुली जिल्ला पिपलमाडी गाविस वडा नम्बर ९ घर भई हाल पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं—३ सृजना टोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी जिल्ला पूर्व कावासोती नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । घटनाका मुख्य योजनकार चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटार टोल घर भई हाल जिल्ला चन्द्रपुर नगरपालिका वडा नं—४ कप्तान ३८ वर्षिय सहदेव भन्ने डोल प्रसाद बोलखे भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । मृतक घोरासैनी र मुख्य योजनाकार बोलखेको परिवार करिब २० वर्ष पहिलादेखिनै गैडाटारमा छिमेकी थिए । घोरासैनीका बुबा भिमदत घोरासैनी धामीझाँक्रीको काम गर्ने गर्थे ।
बोलखेका घर परिवारका सदस्यहरु बिरामी भएपछि झाँक्री भिमदत्त माथि उनले नै तन्त्रमन्त्र गरेर बिरामी पारि दिने गरेको आरोप बोलखे परिवारले लगाउने गरेका थिए ।
यही कुराले दुई परिवारको बीचमा रिसीइवी उत्पन्न भएको थियो । मुख्य अभियुक्त बोलखेले सोही रिसईवी सांध्नको लागि करिब १४ वर्ष अघिपनि मृतक घोरासैनीको बुबालाई आक्रमण गरी घाईते बनाएका थिए ।
सो घटना गाउ“मानै भद्र भलादमीहरुले मिलापत्र गराई मिलाएका थिए । बोलखेको परिवार करिब ६ वर्ष अगाडि गैडाटारबाट टेकान टोल बसाई सराइ गरेपनि उनको मनबाट पुरानो रिसइवी हटेको थिएन ।
त्यसैले उनले घोरासैनीलाई पनि मार्ने योजनका बनाए । जसका लागि उनले ३ महिना अगाडि अर्का अभियुक्त प्रल्हाद फुँयालसंग सहयोग माँगे । फुयाँलले आफुले मार्न नसक्ने भन्दै त्यस्तो काम गर्ने केटाहरु आफ्नो सम्पर्कमा छन् भनेर ३ लाखमा बोलखेसँग डिल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फुयँलले अर्का अभियुक्त रमेश पहरीसमेत २ जनासँग कुराकानी गरी मार्ने योजना बनाए । र, सोका लागि बोलखेसंग फुँयालले पटक पटक गरेर १ लाख १५ हजार पनि लिएर पहरीलाई पठाएका खुलेको छ । घोरासैनीलाई आफुसमेत २ जना भई मार्न पहरीले चन्द्रनिगाहपुर बजार स्थित एउटा होटलमा बसी योजना बनाए । उनीहरुलाई फुयाँलले गैंडाटार स्थित घोरासैनीको घरमा लगेर उनको पहिचान गराएका थिए ।
रमेश पहरी र सूर्य बहादुर भण्डारीले भदौ २३ गते दर खाने दिन घरमा महिलाहरु नहुने भएकोले सोही मौका छोपी घोरासैनीलाई राती मार्नको लागि घरमा जाँदा छिमेकीहरुको चहल पहल रहेकोले मार्न आँट गर्न नसकि सोही दिन फुयालको घरमा बास बसी बिहान चन्द्रनिगाहपुर फर्किएका थिए ।
पुनः उनीहरु भदौ २६ गते बिहान चन्द्रनिगाहपुर स्थित होटलबाट मृतक घोरासैनीले घाँस काट्ने ठाउँमा गएर उनलाई मार्ने योजना बनाए ।
उनीहरु सो स्थानमा पुग्दा स्थानीय महिलाहरु देखेकोले फुयाँलललाई मोबाईल फोन मार्फत त्यहाँ मानिसहरु भएकोले मार्न नसक्ने जानकारी गराएका थिए ।
फोनमा गफ भए पश्चात फुयाँल स्वयम सो स्थान आई हेर्दा कोही पनि नदेखेपछि उनीहरुलाई फोन गरेर तिमीहरु हत्या गर म चाहिं तल बाटोमा बसी मानिसहरुको निगरानी गर्छु भनेर निर्देशन दिएका थिए । फुयाँलले निर्देशन पश्चात पहरी र भण्डारी मृतक घोरासैनीले घाँस काँटिरहेको स्थानमा आएर एउटा लठ्ठी काँटि दिनु हामी जंगलको बाटो हुंदै भोलनटार जानु छ भनि आग्रह गरे पछि उनले घास काँटेको स्थान देखि करिब २० मिटर पश्चिम जंगलमा पुगेर लठ्ठी काँट्दै गर्दा पहरीले हातखुट्टा समाते र भण्डारीले घाँटी थिचेर अचेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घोरासैनी अचेत भएपछि उनकै गम्छाले घाँटीमा सुर्कने गाँठो बांधेर पिरपिरे रुखको हाँगामा उनीहरुले झुण्ड्याए । त्यसपछि उनीहरु सो स्थानबाट भोलनटार हुंदै बारा जिल्लाको निजगढ बजारमा गई निजगढबाट गाडी चढेर चन्द्रनिगाहपुर स्थित होटलमा आई आफ्नो सरसामानहरु लिएर आफ्नो घर तर्फ लागेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
मृतक घोरासैनीको परिवारले हत्यामा संलग्न सबैलाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले यो घटनालाई प्रहरीले निकै संवेदनशिलतासंग अनुसन्धान गरिरहेको र घटनामा संलग्न कोहीं पनि उम्कन नसक्ने दावी गरेका हुन्
इलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मी, मृतकका परिवार र स्थानीयसंग कुराकानी गर्दै प्रहरीले यो घटनालाई सुक्ष्म रुपमा विभिन्न कोणहरुबाट अनुसन्धान गरिरहेको जनाउदै फरार अभियुक्त पनि चाडै पक्राउ पर्ने विश्वास दिलाएका छन् ।
प्रतिक्रिया