बुद्ध एयरका दुई जहाजमा एकैदिन खराबी देखिएपछि एयरलाइन्समाथि छानबिन गरिने

काठमाडौ, ११ असोज । सोमबार बुद्ध एयरका दुई जहाजमा एकै समयमा समस्या देखिएको छ। समस्या देखिएका दुवै जहाज एटीआर(७२ हुन्। सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९ एन–एएनआई’ कलसाइनको एटीआर–७२ जहाज ल्याण्डिङ इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो। काठमाडौँमा पनि सहज नभई ‘फोर्स’ ल्याण्ड गर्नुपर्‍यो। उक्त जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए।त्यस्तै अर्को काठमाडौंबाट पोखरा उडेको एटीआर–७२ ‘९ एन–एजेओ’ कलसाइनको जहाज ककपिटमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भयो। त्रिभुवन विमानस्थलमा जाँच गरेपछि उक्त जहाजलाई पोखरा पठाइयो।बुद्ध एयरले विराटनगरबाट काठमाडौँ फर्किएको जहाजमा भएको इन्धन कम गरेर जोखिम कम गर्न केहीबेर आकाशमै होल्ड गरिएको जनाएको छ। काठमाडौँ एयरपोर्टमा आकस्मिक अवतरणको तयारी स्वरुप जहाजको इन्धन घटाउन केहीबेर जहाजलाई आकाशमै होल्ड गराइएको बुद्धले जनाएको छ।‘सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धन कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गराइएको छ,’ बुद्धले विज्ञप्ति जारी गरेर भनेको छ।

‘काठमाडौंको आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही अवस्थामा रहेको जानकारी प्राप्त गरे,’ विज्ञप्तिमा भनेको छ, ‘अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार काठमाडौँ विमानस्थलमा सुरक्षित साथ जहाजलाई नर्मल अतवरण गराइयो। हामी पुनः सुरक्षित हवाई यात्राको प्रतिबद्धता व्यक्त गर्छौँ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अप्रेशन डिपार्ट प्रमुखसमेत रहेका प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक समस्याबारे छानबिन हुने बताएका छन्। ‘बुद्धको जहाज ल्याण्डिङ गियर नखुलेको भन्दै बिराटनगरबाट काठमाडौँ फर्केको हो। यसो हुनुमा के(के कारण हुन सक्छन् भनेर हामी अध्ययन गर्छौँ, कमजोरी कसको हो भनेर पनि स्ट्रिक्ली छानबिन गर्छौँ, दोषी देखिए कारबाही पनि गर्छौँ,’ उनले भने। बुद्ध एयरले पनि यस विषयमा आन्तरिक छानविन गर्ने जनाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board