सुरु भएन प्रसारण लाइनकाे काम

जाजरकोट, ११ असोज । डोल्पामा ११ केभी प्रसारण लाइन पुर्‍याउन अघिल्लो आर्थिक वर्षमा ठेक्का भए पनि काम सुरु हुनसकेको छैन । झण्डै रु सात करोडको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सुरेन्द्र अग्रहरिले बताए । जाजरकोट नलगाड नगरपालिकाको चौखा स्टेशनबाट डोल्पाको त्रिपुराकोटसम्मको कामको ठेक्का लिएपनि काम नगर्दा समस्यन भइरहेको उनले बताएका छन् । त्यसको लम्बाइ झण्डै ४२ किलोमिटर छ । नमूना कन्स्ट्रक्सन रामेछापले ठेक्का लिएको उनले बताए । लाइन विस्तार भन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्सन सर्भेका लागि काम भए पनि सो काम त्रुटीपूर्ण भएपछि फेरि गल्ती सच्याउन तीन महिनाअघि पत्र लेखिएको उनले जानकारी दिए ।


सर्भे गर्दा गल्ती भएको ठाउँमा सच्याइ तुरुन्तै काम गर्न आग्रह गरिएको तर ठेकेदार सम्पर्कमा नरहेको प्रमुख अग्रहरिले बताए । कोभिडको कारण देखाउँदै काम नगरेको निर्माण व्यवसायीलाई तुरुन्तै काम गर्न कार्यालयबाट ताकेता भइरहेको उनले जानकारी दिए । जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीसम्म ११ केभी प्रशारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखासम्मको विद्युत् प्रसारण लाइनको कामसमेत भइरहेको छ । जाजरकोट तर्फको पूरा काम भएमा मात्र डोल्पासम्म विद्युतीकरण गर्न बाटो खुल्ने देखिन्छ । प्रदेश कार्यालयबाट त्रिपुरोकोटमा सव स्टेशन निर्माण गर्ने योजना रहेको छ ।


त्यस्तै जाजरकोटको बडाबन र समाइलामा तिहारलगत्तै बोलपत्र हुने छ । जाजरकोटको बारेकोट, कुशे र जुनिचाँदेमा लाइन विस्तारका लागि ठेकेदारको लापरवाहीका कारण काममा बाधा उत्पन्न भएको छ । केही योजना केन्द्र र केही योजना प्रदेशबाट हुँदा काममा निगरानी कम भएको बताइएको छ । प्रसारण लाइन छिटो डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइड्राेपावरको कामलाई समेत सहयोग पुग्ने देखिन्छ । अन्य सम्भाव्यता अध्ययन भइहेका भेरी ए बी र सी आयोजनाको समेत काममा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालीकोट राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएका छन् । कार्यालयका अनुसार प्रदेशभर सबैभन्दा बढी रुकुम पश्चिमका ७५।२ र सबैभन्दा कम जाजरकोटमा १६।१५ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेकोे बताइएको छ  ।


कार्यालय प्रमुख सुरेन्द्र अग्रहरिका अनुसार सुर्खेतका ४८।१६, दैलेखका ४८।७३, कालीकोटका ४३।५७, मुगुमा १९।६४ र हुम्लाका २९।६९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच छ । यस्तै, सल्यानका ५२।८८, डोल्पाका २१।९ र जुम्लाका १९।३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा छन् । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीलाई अँध्यारोमुक्त बनाउने भन्दै ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board