अन्तिम इच्छा के छ ? भनेर सोध्दा शास्त्रीले प्रयोग गरेको ‘जय नेपाल’

हामी धेरैले सुनेको वाक्य हो जय नेपाल , व्यक्ति, पेशा र सन्दर्भमा फरक-फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ। यो वाक्य राष्ट्रिय अभिवादनको रूपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गर्छन् । यस्तै राजनीतिक रूपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरूले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ । कसैले जय नेपाल भन्यो कि त्यो सेना वा प्रहरी हो । अथवा त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो भनेर बुझ्ने चलन छ । विदेशमा जय नेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ । खासमा यो वाक्य कसरी प्रयोगमा आयो ?

‘जय नेपाल’ शब्दको खास उत्पत्ति हेर्ने हो भने राजा त्रिभुवनकै पालामा राणाशासन विरुद्धको संघर्षमा शहिद शुक्रराज शास्त्रीले प्रयोग गरेका थिए । तत्कालीन शासकले फाँसी दिने क्रममा तिम्रो अन्तिम इच्छा के छ? भनेर सोध्दा शास्त्रीले ‘जय नेपाल’ जय नेपाल भनेका थिए । त्यही बेलादेखि नेपाली समाजमा यो शब्दको प्रयोग हुँदैआएको हो ।पछि कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिमा यो नै मुख्य नारा बनेको थियो । तत्कालीन क्रान्तिका मुक्ति सेनालाई आन्दोलन पछि प्रहरीमा समायोजन गरेपछि नेपाल प्रहरीले पनि जय नेपाल अभिबादन शुरु गरेका हुन।आज पनि यथावत छ र रहीनेछ ।

कांग्रेसले सोही बेलादेखि भेटघाट, औपचारिक कार्यक्रम तथा लिखित दस्तावेजमा समेत यही शब्दको प्रयोग लाई अभिवादन गर्ने माध्यम बनायो ।
ऐेतिहासिक सन्दर्भ हेर्दा ” जय नेपाल ” भन्ने शब्द सम्बोधन को सुरुवात शुक्रराज शास्त्रीले प्रवचन गर्ने क्रममा सुरु र अन्त्यमा प्रयोग गर्दथे भन्ने पाइएको छ । त्यस्तै क्रान्तिकारी कवि गोपाल प्रसाद रिमाल लगायतका तत्कालीन युवाहरु भेट हुँदा र छुट्टिदा ” जय नेपाल ” को अभिवादन गर्दथे ।हरेक मुलुकको युगान्तकारी परिवर्तन, स्वतन्त्रता र विकास यात्रामा राष्ट्रिय जागरणका आआफ्नै इतिहास हुन्छन्। राणाकालका चार महान् सहिदमध्ये शुक्रराज शास्त्री र दशरथ चन्द अभिवादनका रूपमा ‘जय नेपाल’ लाई आफ्नो मूल मन्त्रका रूपमा उच्चारण गर्न थालेका थिए, जसले कालान्तरमा राष्ट्रिय जागरणको वीजारोपणका रूपमा प्रकट भयो।

विसं १९९७ साल माघ ६ गते दिउँसो १०:११ बजे शुक्रराजलाई सर्वस्व हरणसहित फाँसीको सजाय घोषणा गरियो। फैसला सुनाइसकेपछि राणाहरूले उालाई ‘तिम्रो अन्तिम इच्छा के छ ? ’ भनी सोध्दा शुक्रराजले ‘जय नेपाल’ मात्रको प्रतिक्रिया दिए। राणाहरूले फेरि, ‘होइन, तिम्रो अन्तिम इच्छा के छ ? ’ भनी सोधे। शुक्रराजले जुरुक्क उठेर भने, ‘जय नेपाल’। प्रातः स्मरणीय सहिदले ‘जय नेपाल’ को परम्परा यसरी नै प्रारम्भ गरेका हुन ।

भारतमा सन् १९०७ मा नेताजी सुवासचन्द्र बोसका निकटतम सहकर्मी चम्पकरमण पिल्लाईले सर्वप्रथम ‘जय हिन्द’ को अभिवादन सूत्रपात गरे भनिन्छ। भारत विभाजन र पाकिस्तानको उदयका लागि खासगरी सन् १९४१ देखि छुट्टै इस्लाम राज्य चाहनेहरूबाट ‘पाकिस्तान जिन्दावाद’ को नारा लगाउन थालियो। राष्ट्रको सर्वप्रथम उदय जनमानसमै हुन्छ।

आफ्नो स्थापनाको पहिलो दिन, १२ माघ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नेपालका चार महान् सहिदप्रति पहिलोपटक श्रद्धाञ्जली अर्पण र ‘जय नेपाल’ को पुकारलाई कांग्रेसको अभिवादन मान्ने विधिवत् परम्पराको थालनी गर्‍यो। यसमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को भावना अन्तरनिहित छ। त्यसअघि नेपालमा कहिल्यै पनि शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने प्रचलन थिएन, न त देशभक्तिको भावना जागृत गराउने अभियानका लागि ‘जय नेपाल’ को अभिवादन अपनाइएको थियो। राणा निरंकुशताको अन्त्य, राजनीतिक, सामाजिक र आर्थिक विकासका लागि जनक्रान्तिको तयारी गरिरहेको कांग्रेसले राष्ट्रिय एकता, राष्ट्रिय जागरण र देशभक्तिको प्रतीक ‘जय नेपाल’ लाई अपनायो। २००७ सालको क्रान्तिमा यो अभिवादन क्रान्तिघोष (ब्याटल क्राई) का रूपमा थियो भने क्रान्तिपछि राष्ट्रिय अभिवादनकै रूपमा कांग्रेसबाटै स्थापित हुँदै आयो।

भारतमा पार्टी संगठन हुर्काइरहेको कांग्रेसले आफ्नो अभिवादनका लागि अपनाइसकेको ‘जय नेपाल’ कवि गोपालप्रसाद रिमालले देशभित्र यो अभिवादनको प्रचलनका लागि अभियानै चलाउनुभयो। २००३ सालमा तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसका नेताहरू बीपी कोइराला र डा. डिल्लीरमण रेग्मीका बीच चलेको राजनीतिक विवाद मिलाउन रिमाल बनारस नै पुगेका थिए। ००७ सालको क्रान्तिमा रिमाल सक्रिय रूपमा खटिए, यद्यपि उन कांग्रेसको संस्थापक होइन। उताबाट फर्केपछि देशभित्र अभियानका रूपमा यो अभिवादन चलाउने पहिलो व्यक्ति उनीनै हुन ।
२००७ सालको क्रान्तिताका राजा त्रिभुवनले देशवासीका नाममा सन्देश दिँदा पहिले अल इन्डिया रेडियोबाट र दोस्रो नेपाल प्रजातन्त्र रेडियो (पछि रेडियो नेपाल नामकरण गरिएको) दुवै सन्देशको अत्यमा ‘जय नेपाल’ अभिवादन रहेको छ। यसो हुनाको कारण ती सन्देशलाई अन्तिम रूप दिने कांग्रेस नेताहरू नै थिए।जसले जस्तो अभिवादन गरे पनि हामीलाई कुनै आपत्ति, निन्दा र तिरष्कार छैन। तर राष्ट्रको जय, सम्पूर्ण नेपाली र नेपालको जय भन्ने उदात्त भावना बोकेको राष्ट्रभक्ति र लोकतन्त्रद्वारा ओतप्रोत ‘जय नेपाल’ भन्दा आपत्ति मान्नु कुन स्तरको राष्ट्रवाद हो ?
२००७ साल मंसिर २८ गते बिहान आठ बजे प्रजातन्त्र नेपाल रेडियो (आजको रेडियो नेपाल) स्थापना भई क्रान्तिका कार्यक्रम प्रसारण गर्न सुरु भयो। यसको संस्थापक हुनुहुन्थ्यो, तारिणीप्रसाद कोइराला। २००७ सालको क्रान्तिले जन्माएको रेडियो नेपालको पहिलो प्रसारण वाक्य थियो, ‘जय नेपाल प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको पहिलो अभिवादन १ हामी नेपालको मुक्त क्षेत्र विराटनगरबाट प्रजातन्त्रको सन्देश सुनाउन लागेका छौं।’ राष्ट्रियता बोकेको प्रजातान्त्रिक अभिवादन ‘जय नेपाल’ जो आज पनि रेडियो नेपालले प्रसारणको सुरुमा नित्य निरन्तर अभिवादनको रूपमा उद्घोष गर्दै आएको छ।

२००७ सालको क्रान्ति सम्पन्न भएपछि कांग्रेस नेतृत्वको मुक्ति सेना ‘रक्षा दल’ हुँदै नेपाल प्रहरीमा समायोजन भएपछि ती क्रान्तिकारीले आफ्नो अभिवादन ‘जय नेपाल’ नेपाल प्रहरीमा प्रवेश गराए। प्रहरीमा पनि यो अभिवादन कांग्रेसबाटै गएको हो। यो अभिवादन नेपाल प्रहरीले नित्य निरन्तर आफ्नो सलामीको रूपमा ‘जय नेपाल’ नै भन्ने गरेको छ। पहिलो जनक्रान्ति सम्पन्न भएपछि जय नेपाल क्रमशः राष्ट्रका महत्वपूर्ण संस्थापनबाट देशमा फैलिन थाल्यो। ‘नेपाल’ भनेको काठमाडौं उपत्यकालाई ठान्ने त्यो बेलाको चेतनाको स्तरलाई मेटाएर जनक्रान्तिको उभारले मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म नेपाल हो र यहाँ बसोवास गरेका सबै नेपाली हुन् भन्ने राष्ट्रिय भावना उजागर गर्‍यो। ‘नेपाल’ शब्द नै सीमित भूगोलका लागि उच्चारण हुने त्यो जमानामा यस अभिवादनसँगसँगै राष्ट्रको नाम सर्वत्र गुन्जिन थालेको हो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board